३ भाद्र, अछाम । मङ्गलवार रातिको वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका करिब १२ घर बाढीले बगाउँदा १९ जना बेपत्ता भएका छन् ।
बेपत्ता मध्ये चार जनाको सब फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण कैलाशखोलामा आएको बाढीले खोला किनारमा रहेको सैनीबजारका सम्पूर्ण घर तथा पसल बगाएको र घटना स्थलबाट करिब ३/४ किलोमिटर टाढा शव फेला परेका रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो । घटनाबाट के–कति क्षति भयो भन्ने यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालय तथा शान्तडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गैसकेको र जनप्रतिनिधि सहित खोजी तथा उद्धारको काम भइरहेको छ ।
बाढी तथा पहिरोले रामारोशन गाउँपालिकाको केन्द्र रहेको मुजाबगर बजार, गाउँपालिकाको कार्यालयमा समेत पानी पसेर क्षति गरेको छ । गज्जडबजार, कैलाशखोलामा रहेको शीला पक्की पुलको आधा भाग समेत बगाएको छ भने थुप्रै खेतहरू बगरमा परिणत भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण वडा नम्बर ४ को वडा कार्यालय भवन समेत भत्किएको छ । रामारोशन गाउँपालिका वडा नम्बर ५ का ३६ घर पहिराको जोखिमले विस्थापित भएका उपाध्यक्ष रावलले बताउनुभयो ।
-रेडियो नेपाल