१ भाद्र, काठमाण्डौँ । ‘तपाईंहरु आफै समस्या सृजना गर्ने आफै समाधान गर्न नसक्ने ?’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले उठाउनुभएको प्रश्न । विवाद समाधान गर्न गठित कार्यदलप्रति असहमती जनाउदै गैतमले असन्तुष्टि ब्यक्त गर्नुभयो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्वका कारण समस्या सृजना भएको भन्दै गौतमले दुबै जना बसेरै समस्याको निकास निकाल्नुपर्ने बताउनुभयो ।
नेकपाका एकजना सचिवालय सदस्यका अनुसार गौतम निकै कडा ढंगले प्रस्तुत हुनुभएको थियो । उहाँले कार्यदल चाहिएको भए सचिवालय किन चाहियो ? भनी प्रश्न समेत गर्नुभएको थियो ।
दुई अध्यक्ष बसेर खाका तयार गरी सचिवालयमा छलफलका लागि ल्याउनुपर्नेमा कार्यदल बनाएर अपरिपक्व कार्य गरेको गौतमको तर्क थियो । उहाँले अध्यक्षद्वय ओली र प्रचण्डलाई विवाद निकाल्न सक्ने समाधान किन निकाल्न नसक्ने भनी प्रश्न गर्नुभएको थियो । बैठकमा बामदेवको प्रस्तुती दुवै अध्यक्षप्रति कठोर थियो ।
उहाँले देश कोरोना महामारीसँग जुधिरहँदा महिनौंसम्म विवादमा अल्झँदा पार्टीप्रतिको नकारात्मक दृष्टिकोण बढेको समेत औल्याउनुभएको थियो ।