संवैधानिक नियुक्तिको सकसः १५ पदको बार्गेनिङमा काँग्रेस

संवैधानिक नियुक्तिको सकसः १५ पदको बार्गेनिङमा काँग्रेस


१ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच संवैधानिक आयोगका रिक्त पदाधिकारी र सदस्यको नियुक्तिका सम्बन्धका छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकसँग संवैधानिक आयोगमा नियुक्तिका सन्दर्भमा छलफल गर्नुभएको थियो ।

यसअघि उक्त विषयमा काँग्रेससँग एकल छलफल गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले आज भने आफ्नो पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि सामेल गराउनुभएको थियो । ओलीले संवैधानिक आयोगहरूको गठन र त्यसलाई पूर्णता दिन उदासीनता देखाएको भन्दै उहाँको नियतमाथि प्रश्न उठिरहेको बेला सरकार र प्रतिपक्षीबीच छलफल अगाडि बढेको हो ।

आजको छलफलमा प्रधानमन्त्री ओलीले संवैधानिक निकायका रिक्त रहेका सबै पदका विषयमा छलफलको प्रस्ताव अगाडि सार्नुभएको थियो । त्यसमा छलफल अगाडि बढाउन देउवा पनि राजी हुनुभएको थियो ।

काँग्रेस नेता लेखकका अनुसार नेकपा अध्यक्ष प्रचण्डले यस विषयमा पार्टीभित्रै थप छलफलको अवश्यकता रहेको भन्दै मंगलबारका लागि समय मागेपछि आजको छलफलमा कुनै सहमति हुन सकेन । भोलि थप छलफल गर्ने सहमति गरेर नेताहरु उठेका थिए ।

काँग्रेसले खोजेको हिस्साः
स्रोतका अनुसार काँग्रसले अख्तियार र निवार्चन आयोगमा एक÷एक सदस्य खोजेको छ । गठन गर्न बाँकी १० वटा आयोगमा ४ वटा आयोगको प्रमुख पाउनु पर्ने काँग्रेसको दाबी छ ।

यसअघि गठन गरिएका ३ वटा आयोगमा नेकपाले एकलौटी पदाधिकारी नियुक्त गरेको थियो ।

काँग्रेसले संवैधानिक आयोगमा रिक्त ३९ वटा पदमा चार आयोगको प्रमुखसहित करिब १५ पदको बार्गेनिङ गरिरहेको छ । तर काँग्रेस नेता लेखकले सरकार ठोस रुपमा प्रस्तुत नभएकाले काँग्रेसले कुनै प्रस्ताव राखिनसकेको बताउनुभयो ।
यता नेकपाका उपनेता नेम्वाङका अनुसार विगतमा सरकार र प्रतिपक्षीबीच गरिने शक्ति सन्तुलनका आधारमा अगाडि बढ्न देउवाले प्रधानमन्त्रीसँग आग्रह गर्दै आउनुभएको छ ।
प्रधानमन्त्रीले आफ्नै पार्टीभित्र शक्ति सन्तुलन मिलाउन नसकेकाले निर्णय प्रक्रियामा ढिलाइ भएको काँग्रेसको भनाइ छ । तर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा जस्तो काँग्रेसलाई मागे जति भाग दिनसक्ने अवस्थामा नेकपा छैन ।

नेकपा स्रोतका अनुसार नेकपाभित्र प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले पनि आ–आफ्नो हिस्सा खोजिरहेका छन् । प्रचण्ड र नेपाल समूहले संवैधानिक नियुक्तमा नेकपाको भागमा परेको ६० प्रतिशत हिस्सा आफूले पाउनुपर्ने दाबी राखेको नेकपा स्रोत बताउँछ ।

त्यसैले पनि ओलीले देउवालाई अख्तियार र निर्वाचन आयोग मध्ये एकमा मात्र हिस्सा दिन सकिने बताउँदै आउनुभएको छ । हाल प्रचण्ड र नेपालबीचको मोर्चाबन्दीका कारण अख्तियारमा आफू निकट मान्छे राख्न प्रधानमन्त्री ओलीलाई सकस छ ।

नयाँ प्रमुख आयुक्त आफू निकट ल्याउने तयारीमा रहेका ओली बहुमत सदस्य आफू निकट राख्न चाहन्छन् । तर प्रचण्ड, देउवा र नेपालले जसरी पनि आफू निकट मान्छे अख्तियारमा घुसाउन हानथाप गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर