३२ श्रावण, काठमाण्डौँ । नेपालमा आज एकै दिनमा कोरोना भाइरसका ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो ।
आजसम्म १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । आज १३४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिनुभयो । यस्तै हालसम्म मृतकको संख्या १०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ हजार २ सय ४७ पीसीआर परीक्षण हुँदा २ सय १८ महिला र ४ सय २३ पुरुष गरी ६ सय ४१ जना संक्रमित थपिएका हुन् । यसैगरी हालसम्मको जम्मा परीक्षण ५ लाख १७ हजार ९०७ रहेको छ ।
अहिले आइसियुमा १ सय जना उपचाररत रहेका छन । प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश नम्बर ५ मा ११ जना आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।