३१ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल भारत द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले अर्थपूर्ण द्धिपक्षीय सहकार्यको अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।
आज अपरान्ह प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले गत १० अप्रिल २०२० मा मोदीसँग गरेको कुराकानीको सम्झना गरेका थिए ।
साथै, प्रधानमन्त्री ओलीले नेपाल सरकार र जनताका तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री मोदी र उहाँको माध्यमबाट भारत सरकार र जनतालाई ७४औं स्वतन्त्रता दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले भारतको निरन्तर प्रगति र समृद्धिका पनि कामना गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा छिमेकहरुलाई प्राथमिकतामा राखेकोबारे बोलेको कुराको सराहना गर्नुभएको थियो । दुवै देशका प्रधानमन्त्रीले कोरोना संक्रमण बिरूद्धको लडाईमा भएका पछिल्ला प्रयासहरूकाबारे विचार आदान प्रदान गर्नुभएको थियो ।
सम्वादका क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीको बिरूद्ध र जनजीवनको रक्षा गर्न नेपाल सरकारले चालेको कदम र प्रयासलाई पनि प्रकाश पार्नुभएको थियो ।