नवप्रवेशीको आडमा शक्ति संञ्चय गर्दे देउवा

नवप्रवेशीको आडमा शक्ति संञ्चय गर्दे देउवा

२४ श्रावण, काठमाण्डौँ । नेपाली काँग्रेसमा १४औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको आन्तरिक रस्साकस्सी जारी छ ।

श्रावण १० गते यता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा कांग्रेस लागिपरेको छ ।

महाधिवेशनका लागि शक्ति संञ्चयको होडबाजी चल्दैगर्दा शीर्ष नेताहरुको कार्यकर्ता फकाउने आ–आफ्नै रणनीति छ । सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतर पक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा खडा गर्ने रणनीतिमा देखिन्छ ।

महाधिवेशनमको कार्यतालिका सार्वजनिक भएपछि देउवा संस्थापन इतर पक्षको विरोधको प्रवाह नगरी मनोनयनमा केन्द्रित हुनुहुन्छ । पार्टीको जिम्मेवारीमा बस्न चाहने इतर निकट कार्यकर्ता र काँग्रेसमा नयाँ प्रवेशीलाई व्यवस्थापन गरेर शक्ति सञ्चय गर्ने देउवाको ध्येय रहेको बुझिन्छ ।

फाल्गुन १९ गते देउवाले सर्लाही जंगीलाल राय र कर्णबहादुर बुढालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो । यस्तै कैलालीका मोहनसिंह राठौर, सर्लाहीका शम्भुलाल श्रेष्ठ, कपिलवस्तुका अभिषेक प्रताप साह, लमजुङका दयाराम पाण्डे, डडेलधुराका जनकराज कलौनी, स्याङ्जाका भूमिबहादुर गुरुङलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मनोनित गर्नुभएको थियो ।

पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम देउवाले फाल्गुन १७ गते केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत, झापाका सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गर्नुभएको थियो ।

देउवाले तत्कालीन फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारलाई उपसभापति १२ जनालाई केन्द्रीय कार्यसमितिमा समेट्नुभयो ।

निर्वाचनताका तत्कालीन माओवादी परित्याग गरी काँग्रेस प्रवेश गरेका नन्दनकुमार दत्त, अखण्ड पार्टी काँग्रेसमा विलय गराएका कुमार खड्का, नरेन्द्रकुमार चौधरी र हसन अन्सारीलाई देउवाले विभिन्न समयमा केन्द्रीय कार्यसमिति मनोनित गरिसक्नुभएको छ ।

उनीहरुलाई आगामी महाधिवेशनमा देउवाले शक्ति स्रोतको रुपमा लिनुभएको छ । किनभने तत्कालीन लोकतन्त्रिक फोरमबाट काँग्रेसमा प्रवेश गर्नुभएका विजयकुमार गच्छदार समूहलाई २५ हजार क्रियाशील सदस्यता दिइएको छ । तत्कालीन एमाले, माओवादी केन्द्र, राजपा र राप्रपाबाट आएर केन्द्रीय सदस्य बनाइएका नेताहरुको नाममा पनि क्रियाशील सदस्यता दिने तयारी छ ।

यस्तै गत श्रावण १३ गते काँग्रेस प्रवेश गर्नुभएका राप्रपाका सुनिल थापाको समूहलाई सहमहामन्त्रीसहित ५ जना केन्द्रीय सदस्य र २ जना आमन्त्रित सदस्य दिने देउवाको तयारी छ । आगामी दिनमा बस्ने केन्द्रीय समिति बैठकमा देउवाले उनीहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने बुझिएको छ । थापालाई भने देउवाले पार्टी प्रवेश कार्यक्रमा सहमहामन्त्री दिइने घोषणा गरिसक्नुभएको छ ।

यस्तै ५ हजार क्रियाशील सदस्य दिने देउवाको तयारी छ । सुनिल थापा समूहबाट ५०÷६० जना महाधिवेशन प्रतिनिधि थप्ने देउवाको रणनीति देखिन्छ ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशनको स्वतः मतदाता हुने विधानमा व्यवस्था हुँदा देउवाले संस्थापन इतरको विरोधका बाबजुत थापा सामूहबाट केन्द्रीय सदस्य ७ जना मनोनित गर्दैहुनुहुन्छ । अब काँग्रेसको केन्द्रीय समितिमा आकार बढेर १ सय २५ सदस्यीय कार्यसमिति बन्न पुग्ने देखिएको छ ।

काँग्रेसको १३ औं महाधिवेशन (२०७२ फाल्गुन) देखि हालसम्म आउँदा देउवाले पार्टीमा करिब तीन दर्जन नवप्रवेशीलाई केन्द्रीय सदस्यको जिम्मेवारी पदनुभएको छ ।

देउवाले महाधिवेशनका मुखका नवप्रवेशीलाई केन्द्रीय समितिमा समेटेपछि संस्थापन इतर समुह सशंकित छ । अहिलेसम्म गच्छदारसहित नवप्रवेशीहरु देउवा कित्तामै उभिएको पाइन्छ । त्यसैले पनि अन्य पार्टीबाट आएकाहरुको नाममा हजारौंको संख्यामा क्रियाशील सदस्यताको फारम वितरण गरेकोमा पौडेल समूहले आपत्ति नै जनाएको छ ।

देउवाको महाधिवेशनमुखी रणनीतिले संस्थापन इतर समूह चेपुवामा परेको छ । विरोध गरौँ पार्टीमा प्रवेश गरेकाहरु चिढिने, न गरौँ महाधिवेशनमा शक्ति सञ्चय रोक्नुछ ।

१३ औं महाधिवेशनमा आफूले पाएको मतलाई देउवा पक्षले आधार बनाएर महाधिवेशनमा आफ्नो बर्चश्व कायम गर्ने रणनीति बनाएको देखिन्छ ।

महाधिवेशनमा संस्थापन पक्षमा लागेका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य चन्द्र भण्डारीबाहेक कसैले पनि देउवाको साथ छाडेका छैनन् ।

देउवा समूहबाट दुई नेता बाहिरिए पनि संस्थापन इतर पक्षबाट आठ जना केन्द्रीय सदस्य देउवा क्याम्पमा पुगेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर