२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार बिहान फोन गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सुवासजीलाई पठाउनोस्, तपाईंसँग कुरा गरेर पार लागेन’ भने लगत्तै नेम्वाङ्ग खुमलटार पुगे ।
सामान्य औपचारिकतापछि अध्यक्ष दाहालले भने ‘तपाईंहरूको एकोहोरो कुरो मात्रै कति सुन्ने ? अलि सम्झाउनुस् । तपाईंहरूले पनि अलिकति बुझ्नुहोस्, के भएको छ ? कसो भएको छ भनेर’
स्रोतका अनुसार प्रचण्डले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको दावी गरेका थिए । तर ओलीको हठका कारण भने पार्टी दुर्घटनामा जान सक्ने संकेत गरेका थिए ।
‘पार्टी एकता चाहनुहुन्छ कि विग्रह ? उहाँ (प्रधानमन्त्री) ले त पार्टी फोर्नुहुन्छ । तपाईंले त पक्कै वहाँलाई साथ दिने होला ! त्यसो गर्नुभयो भने तपाईं पनि विभाजनकारी हुनुहुनेछ’ प्रचण्डले नेम्वाङलाई भने ।
त्यसको जवाफमा ‘त्यस्तो होइन, मिल्छ मिल्छ’ भन्दै सुवास खुमलटारबाट निस्किएको खुमलटार स्रोतको भनाई छ ।
उता, कानुनविद्हरूले केही दिन देखी नेपाल बारमा गरेको अनौपचारिक छलफलमा प्रधानमन्त्रीले मध्यावधि निर्वाचनमा जाने कानुनी छिद्रको खोजी गरिरहेको बताएका छन् ।
तर, संवैधानिक हिसाबले तत्कालको अवस्थमा त्यो सम्भावना नै देखिँदैन ।