२० श्रावण, झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालले कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरेको छ । प्रदेश–१ सरकारको सहयोगमा अस्पतालमा २५ शैयाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको जनाईएको छ ।
प्रदेश सरकारले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताउनुभयो । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो ।
प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताउनुभयो ।
अस्पतालको आइसोलेसनमा यसअघि कोभिड–१९ का सङ्क्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचारसमेत गर्न थालिएको हो ।
हिजो(सोमबार) विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच सङ्क्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिनुभयो ।