१९ श्रावण, इलाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को जोखिम बढ्दैगएपछि इलामको श्रीअन्तुमा संचालित होम–स्टेहरुले अब घरमा पाहुना नराख्ने भएका छन् ।
भिडभाड र नयाँ व्यक्तिको आगमनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाको मुख्य पर्यटकीय क्षेत्र श्रीअन्तुका व्यवसायीले होम–स्टे, कटेज र होटलमा श्रावण महिनाभरी आगन्तुकलाई नराख्ने निर्णय गरेको हो ।
अहिले पनि सुर्योदय नगरपालिकाको अन्तु क्षेत्रमा पर्यटकको चहलपहल भइरहेको छ । यस्तो बेला सबै सजग हुनुपर्ने भएकाले निश्चित समयका लागि आफूहरूले सेवा दिन नसक्ने घोषणा गरेको व्यवसायीअरुले बताएका छन् ।
अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आले, वडा नं ५ का वडाध्यक्ष प्रेम तामाङ, एसोसिएसन केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष, सूर्याेदय नगरपालिका ४ र ५ का वडा सदस्यहरु, स्थानीय बुद्धिजिवि, समाजसेवी, सम्पूर्ण होमस्टे ब्यावसायीहरु तथा अन्य ब्यवसायमा संलग्न स्थानीय बासिहरुको आपस्थितिमा होमस्टे संचालन नगर्ने निर्णय भएको जनाइएको हो ।