बालकोट पुगेर ओलीको शन्देश ‘पाँच वर्षसम्म सरकार ढल्दैन’

बालकोट पुगेर ओलीको शन्देश ‘पाँच वर्षसम्म सरकार ढल्दैन’

१९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनः बालुवाटार फर्किएका छन् । आज मध्यान्ह सरकारी निवास बालुवाटारबाट बालकोट गएका ओली त्यहाँ एक घण्टा बिताएर फर्किएका हुन् ।

उनले बालकोटमा सो घरमा हाल बस्दै आएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा र सांसद महेश बस्नेतसँग छलफल गरेको स्रोतले बताएको छ । बाँस्कोटा र बस्नेत ओलीको विश्वासपात्र मानिन्छन् ।

आजै बिहान बालुवाटारमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको थियो । यद्यपी दुबै नेता आआफ्नो अडानमा टसमस भएपछि वार्ता निष्कर्षविहीन भएको थियो ।

बालकोटमा आचानक पुगे ओलीः


ओली अचानक किन निजी निवास गए भन्ने प्रश्नको जवाफ स्पष्ट छैन । यदि ओलीलाई नै यो प्रश्न गर्ने हो भने कस्तो जवाफ आउथ्ँयो होला ? सायद उनले यसको जवाफ ठट्यौली पाराले नै दिन्थे होलान्न– ‘घर किन जान्छन् मान्छे, थाहा छैन ?’ ओली निकट सहयोगीहरुका दावीअनुसार लामो समय बालुवाटारमा रहेकाले आफ्नो घरको हेरचाह गर्न सोमबार उनी बालकोट पुगेका हुन् ।

झण्डै सवा घण्टा बालकोटमा बिताएर बालुवाटार फर्किएका ओलीले घरको चोटाकोठा चहार्न भ्याए । त्यतिमात्रै होइन बगैँचा र फलफूलका बोटविरुवा समेत रुचिपूर्वक नियाले ।

‘पत्नी राधिका शाक्यसहित अचानक आउनुभएको हो, सवा घण्टा बसेर फर्कनुभयो’, प्रधानमन्त्रीमा निर्वाचित भएर बालुवाटार सरेपछि ओलीको घरमा बस्दै आएका काभ्रेका सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भने, ‘उहाँ (प्रधानमन्त्री) बालकोट आउने कुरा मलाई अन्तिम समयमा मात्रै थाहा भयो ।’

‘म रक्षाबन्धन बाँध्न काभ्रे गएर फर्कँदै थिएँ, नालामा आइपुगेपछि ‘म आउँदै छु है’भनेर भनेको ८, १० मिनेटमै आइपुग्नुभयो’, बाँस्कोटाले भने, ‘मलाई पनि सरप्राइज हुनेगरी बाटोबाटै फोन गरेर जानकारी दिनुभएको हो ।’

रक्षाबन्धनले स्वागतः
ओली बालुवाटारबाट बालकोट हिँडेपछि धेरैले अड्कल लगाए । रक्षाबन्धनको दिन रक्षाबन्धनकै लागि घर जानुभएको होला भन्ने अनुमान धेरैको थियो । तर, सो अनुमान विपरित उनले बालकोट पुगेर रक्षाबन्धन ग्रहण गरेनन् ।

ओली घर पुग्दा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, नेपाली सेनाका कर्णेल र जिल्लाका केही कार्यकर्ता पनि बालकोट पुगिसकेका थिए ।

‘श्रीमती राधिका शाक्यसहित ओली बालकोट पुगेपछि सुरुमा उनलाई रक्षाबन्धन ग्रहण गर्न आग्रह गरियो तर उहाँले बालुवाटारमै ग्रहण गरिसकेकाले ठिकै छ भन्नुभो’ बाँस्कोटाले भने, ‘त्यसपछि भक्तपुर जिल्लामा कोरोनाको प्रभाव र नियन्त्रणबारे चासो राख्नुभयो ।’

कोरोनाबारेको चासोपछि बगैँचामा ओलीः

प्रधानमन्त्री ओलीको चासोपछि प्रमुख जिल्ला अधिकारी लगायतले जिल्लामा कोरोना नियन्त्रणमा भइरहेको प्रयासबारे ब्रिफिङ गरेका थिए ।
त्यसपछि ओलीले केहीबेर घर कम्पाउण्डभित्र रहेको बगैँचा नियालेका थिए । ‘बगैँचामा तरकारी र फलफूल लगाइएको छ । फूलका विरुवाहरु पनि छन्, बगैँचा नियालेर केही राजनीतिक गफगाफ पनि भयो,’ बाँस्कोटाले जानकारी दिए ।

जेरीजस्तै गुलियो मिटिङ !
ओली बालकोट पुगेपछि भक्तपुरकै सांसद महेश बस्नेत पनि पुगेका थिए । अन्यसँगको भेटघाट सकेर ओलीले बस्नेत र बाँस्कोटालगायतसँग राजनीतिक गफगाफ गरेका थिए । त्यसक्रममा बाँस्कोटाले चासोपूर्वक पार्टीभित्रको विवाद र सोमबार बिहान प्रचण्ड लगायतसँग भएको मिटिङबारे प्रश्न गरेका थिए ।

सो क्रममा ओलीले सोमबार बिहानको वार्ता जेरीजस्तै गुलियो भयो भनेर ठट्टा गरेका थिए ।

‘मैले आजको मिटिङ कस्तो भयो ? भनेर प्रश्न गर्दा उहाँले ठट्यौलीमा पारामा ‘तात्तातो जेरीजस्तै गुलियो’ भन्ने जवाफ दिनुभयो’ बाँस्कोटाले ओलीसँग भएको संवादका केही अंश सुनाए । गुलियो भनेपछि कुरा मिलेको हो भन्ने बाँस्कोटालाई लाग्यो । त्यसपछि कुरा मिलेको हो त ? भन्ने दोस्रो प्रश्न उनले दोहोर्याए । जवाफमा ओलीले भने, ‘कुरा ठिकै भयो । तर अवस्था जस्ताको तस्तै छ ।’

तिते करेलाको प्रसंगः

यति सुनिसकेपछि बाँस्कोटाले पनि ठट्यौली पारामै भने, ‘त्यसो भए भोलि तिते करेला खुवाएर पठाउनुस्’ बाँस्कोटाले यसो भन्दा हाँसो चलेको भक्तपुरका सांसद महेश बस्नेतले सुनाए ।

यति कुराकानी हुँदा झण्डै १२ बज्न लागिसकेको थियो । पत्नि राधिका शाक्यले जानबेला भएको संकेत गरेपछि बाँस्कोटाले फेरि अर्काे प्रश्न गरे, ‘आज त अचानक आउनुभयो, अब कहिले आउनुहुन्छ ?’ ओलीले छोटो जवाफ दिए, ‘अब साढे २ वर्षपछि ।’ फेरि सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो । अर्थात ओलीले आफू नेतृत्वको सरकार ५ वर्षसम्मै जाने र कसैले ढाल्न नसक्ने उनको संकेत थियो ।

सोमबार बिहान बालुवाटारमा अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डसहतिका नेताहरुसँगको वार्ता सकेर ओली बालकोट पुगेका हुन् ।

-रातोपाटी

प्रतिक्रिया:

सम्बन्धित खवर