१९ श्रावण, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरो खस्दा आठ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जनाको भने जीवितै उद्धार भएको छ ।
भारतीय नागरिक बारु शाहको उद्धार गरी अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गएराति परेको अविरल वर्षासँगै खसेको पहिरोले मेलम्ची कभर्डहल निमार्ण गर्ने कामदारलाई पुरेको हो ।
पहिरोमा परी बेपत्ता हुनेहरूमा वीरगन्जका ४२ बर्षिय राजेन्द्र चौरासिया, ३५ बर्षिय प्रदिप र्चाैरासिया, २५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मान बहादुर रुम्बा, २० वर्षीय सिमन ग्लान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पहिरोमा सात जना वीरगन्जको र एक जना भारतीय नागरिक अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।