१६ श्रावण, सुनसरी । दुहवी नगरपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै भोलि शनिवार देखि लागु हुने गरी अत्यावश्यक पसल बाहेक अरू पसल बिहान ९ बजे देखि ४ बजे सम्म मात्र खोल्न पाईने भएको छ । दुहवी नगरपालिकामा आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा, दुहवीका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, दुहवी नगरपालिका स्वास्थ्य शाखाका विन्देश्वर महतो, उद्योग संगठन मोरङका भिम घिमिरे, संचारकर्मी, दुहवीका सुरक्षा प्रमुखहरूको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
अत्यावश्यक वस्तु अन्तर्गत खाद्यान्न, तरकारी र औषधीको पसल खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ४ बजेसम्म मात्र खोल्न दिइने निर्णय गरिएको छ । त्यस्तै सार्वजनिक सवारी साधानमा ५० प्रतिशत मात्र यात्रु बोक्न पाइने, बाहिरबाट आएका तिन पाङग्रे सवारी साधन चल्न नदिइने, उद्योगहरुले स्वास्थ्यको प्रोटोकललाई लागु गरी उद्योग संचालन गर्नुपर्ने, होटल तथा रेष्टुरेन्टले प्याकिङ समाग्रीमात्र बेच्न पाउने, अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने नलगाएमा १०० जरीवाना तथा १ महिनाको कैद सजाय हुने, पसल संचालकहरुले पसल अगाडी अनिवार्य साबुन पानी तथा सेनिटाईजरको प्रवन्ध मिलाउने, अनुगमनको क्रममा नियम पालना नगरेको पाईएमा पसल तालाबन्दी गरीने, पिसिआर परिक्षणको दायरा बढाउदै जाने बैठकले निर्णय गरेको दुहवी नगर प्रमुख वेद नारायण गच्छदारले बताउनुभयो ।
आज बसेको नगरस्तरीय कोभिड–१९ आपतकालिन व्यवस्थापन समितिकोे सर्वदलीय बैठकले निर्णय गरेको विषयमा जानकारी दिँदै माइकिङ गर्ने तथा स्थानिय संचार माध्यमबाट सुचना प्रवाह गर्ने र दुहवी प्रवेश गर्ने सबै नाकामा उच्च सतर्कता अपनाइने दुहवी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद न्यौपानेले बताउनुभयो ।
दुहवी बाहिरबाट आउने सिटी सफारी र ट्याम्पोलाई दुहवीमा प्रवेश गर्न नदिने र ट्याम्पो, सिटी सफारीहरूमा कत्तिको स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको यसबारेमा अनुगमन पनि गरिने प्रमुख प्रसासकिय अधिकृत तथा अनुगमन समितिका संयोजक विनोद न्यौपानेले बताए ।