बीपी प्रतिष्ठान हाता भित्र लकडाउन घोषणा

बीपी प्रतिष्ठान हाता भित्र लकडाउन घोषणा


१४ श्रावण, सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र लकडाउन घोषणा गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्न प्रतिष्ठानमा आजदेखि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले जारी गरेको सूचनामा भनिएको छः ‘प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा पालना गर्नु गराउनु र कहीँ कसैले यसको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने छ ।’

प्रतिष्ठानमा आवास र छात्रावास प्रयोग गरी बसोबास गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा उनीहरुका आश्रित परिवार लगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवास बाहिर नजान सूचित गरिएको छ । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्वारा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी प्रतिष्ठानका शिक्षक, कर्मचारी लगायत विद्यार्थीहरूले प्रतिष्ठान बाहिर अन्यत्र स्थान जिल्ला जानु परेमा प्रतिष्ठानबाट पूर्व स्वीकृति लिएर मात्र जानु पर्ने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर