माधव नेपालको ‘अडान’ले नेकपाको विवाद जहाँको–त्यही !

माधव नेपालको ‘अडान’ले नेकपाको विवाद जहाँको–त्यही !

१४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे ।

गौतमले नेकपामा सहमतिका लागि छ बुँदे प्रस्ताव अगाडि सारेपछि उत्साही भएका ओलीले त्यसमा सहमतिको सन्देश पनि दिएका छन् । उनले सहमतिका लागि आफू लचिलो बन्न तयार भएको भन्दै गौतमलाई एकतावद्ध भएर बढ्ने माहोल तयार गर्न समेत भनेको बुझिएको छ ।

ओलीको राजीनामा मागिरहेको समुहबाट बामदेवको फरक धारणा आएको छ । अब राजीनामाको पक्षमा सचिवालयका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र बाँकी रहेका छन् । राजीनामाको विपक्षमा सचिवालयमा पल्लाभारी भएको छ ।

ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण काम गर्ने गरी प्रस्ताव पठाउँदै आएका छन् । त्यसका लागि राजीनामाको मागबाट पछि हट्नुपर्नेछ । एकपटक प्रचण्ड यसमा लचिलो पनि भएका थिए । तर, फेरि धारणा बदले । यसमा मुख्य कारण माधव नेपाल थिए ।

माधव नेपाल भने सचिवालयका अन्य नेताहरु ओलीको राजीनामा नमाग्ने पक्षमा उभिएपनि आफू सशक्त रुपमा प्रस्तुत हुने पक्षमा पगेका छन् । उनी निकट स्रोतका अनुसार ओलीको सरकारबाट बर्किगमनको एजेन्डाबाट माधव नेपाल टसमस हुनेछैनन् ।

पार्टी बैठकबाट नै ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नुपर्ने पक्षमा माधव नेपाल रहेका छन् । तर, प्रचण्डले सकेसम्म सहमतिबाट अगाडि बढ्ने भन्दै संयमता अपनाउन भनेबाट निर्णय रोकिएको छ । यसरी प्रचण्ड ओलीको राजीनामाबाट ब्याक भएपनि माधव नेपाल ब्याक नहुने गरी अडानका साथ बस्ने रणनीति बनाएको बुझिएको छ

मन्त्रीहरुले गुट फेरेः

नेकपाभित्र शक्तिसंघर्ष चलिरहँदा जुन गुटबाट मन्त्री भएका थिए त्यही गुट छाडेर केही मन्त्रीले मौकामा चौका हान्न खोजेका छन् । गुट छाड्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुटबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आपूर्तिमन्त्री लेखराज भट्ट छन् । बादल अहिले प्रचण्डबाट टाढिएर तटस्थ देखिएका छन् । उनी ओलीविरोधी क्याम्पको बैठकमा सहभागी हुन छाडेका छन् ।

लेखराज भट्टले गुट नै परिवर्तन गरेका छन् । उनले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गुट समातेका छन् । प्रचण्डनिवास खुमलटार नै जान छाडेका छन् । खुलेआम गुट छाडेको घोषणा समेत गरेका छन् । भट्ट प्रचण्डकै गुटबाट मन्त्री बनेका थिए ।

गुट छाड्नेमा पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषाल पनि छन् । दुवैजना स्थायी कमिटी सदस्यहरु माधवकुमार नेपालको गुटबाट मन्त्री बनेका थिए । भट्टराई र भुषाल पछिल्लो समय बामदेव गौतमसँग नजिकिएका छन् । उनीहरुले तटस्थ भुमिका निभाउने भनेपनि ओलीसँग निकटता बढाएका छन् । भट्टराई त ओली गुटका तर्फबाट भेलाहरुमा सहभागी हुँदै आएका छन् ।

भुषाले गुट छाडेकोमा माधव नेपाल पक्षधर रुष्ट बनेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर