१३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । आजका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले स्थगित भएको जानकारी दिएको हो ।
पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका अन्य नेताहरुले भने आफूहरु संग कुनै सल्लाह नै नगरी बैठक स्थगित गरेको भन्दै अशन्तुष्टि व्यक्त गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित बैठकअघि प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको थियो । तर प्रचण्ड १० बजेसम्म पनि बालुवाटार नपुगेपछि ओलीले बैठक स्थगित गराउनुभएको हो ।
उक्त बैठकमा भाग लिन अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका सदस्यहरु बालुवाटार पुगिसकेका छन् । बैठक कक्षमा पुग्ने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, मातृका यादवलगायत रहनुभएको छ ।
नेकपामा देखिएको आन्तरिक विवाद झन् पेचिलो बन्दै गइरहेको छ । विवाद मिलाउनका लागि दुई अध्यक्षबीच छलफल हुनुपर्ने भएपनि केही दिनयता कुनै संवाद हुन सकेको छैन ।
यसअघिका बैठकहरु पनि अध्यक्षद्वय बीचको छलफलमा सहमति जुट्न नसकेपछि स्थगित हुँदै आएको थियो ।