
१२ श्रावण, काठमाण्डौँ । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ ।
पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले गत २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ ।
विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले लालमोहर लगाएर पशुपतिनाथलाई अर्पण गर्नुभएको पशुपति क्षेत्रको २ सय ६४ हेक्टर जमिनमा धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी पूर्वाधार निर्माण गर्ने अवधारणा गुरुयोजनामा समेटिएको कोषले जनाएको छ ।
इसाई धर्मावलम्बीको भ्याटिकन सिटी, मुस्लिमको मक्का मदिना, बौद्ध धर्मावलम्बीको लुम्बिनी जस्तै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई स्थापित गर्न लागिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।
कोषका पूर्वसदस्य सचिव एवंं गुरुयोजना विज्ञ चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनाको अवधारण र सिद्धान्त सञ्चालक परिषद्बाट पारित भएर संस्कृति मन्त्रालय पुगेसँगै कानून, अर्थलगायत सरोकार भएका मन्त्रालयको स्वीकृति लिई मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भएको जनाइएको छ ।
आगामी पँचास वर्षसम्म पशुपति क्षेत्रमा आउने भक्तजनको अनुमान गरी पूर्वाधार निर्माण गर्ने गरी गुरुयोजना बनाइएको उहाँले बताउनुभयो । कोषले गौशालाबाट रातोपुल हुँदै रुद्रमती किनारै किनार वा कोटेश्वरबाट जडीबुटी हुँदै गोठाटार, जोरपाटी हुँदै चक्रपथ घुमाउन पनि गुरुयोजनामार्फत माग गरेको छ ।
पशुपति क्षेत्रबाट जाने चक्रपथका कारण तिलगङ्गा पुलमुनिको बज्रेश्वरी मन्दिर जीर्ण बनेको छ । तान्त्रिकरुपमा ठूलो महत्वको मन्दिर भएपनि बज्रेश्वरीलाई चक्रपथले समस्यामा पारेको स्थानीयवासी बताउँछन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७