४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ ।
दुई अध्यक्षबीच आइतबार साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको थियो । ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए ।
दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन ।
यसअघि शनिबार प्रचण्डले ओलीसँग विवाद मिलाउन सहमति गरेको भन्ने चर्चा भएको थियो। ओलीविरूद्ध प्रचण्डसँगै रहेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षले चोचोमोचो गरे आफूलाई मान्य नहुने बताएका थिए ।
आइतबार बिहान प्रचण्डले आफू र नेपाल पक्षीय नेताहरूलाई निवास खुमलटारमा बोलाएर ओलीसँग कुनै सहमति नगरेको बताएका थिए ।
सचिवालय बैठकपछि परिबन्दमा परेर राष्ट्रपति भवन शितल निवास जानु परेको प्रचण्डको गुनासो थियो ।
खुमलटार भेलामा प्रष्टीकरणः
शनिबार राति प्रचण्डको सचिवालयले कुनै सहमति नभएको भनेर खण्डन गरेपनि यसअघि आफ्नो कित्तामा रहेका नेपाल, खनाल, गौतम र श्रेष्ठहरु त्यसलाई सहजै विश्वास गर्ने पक्षमा थिएनन् ।
किनभने सचिवालय लगत्तै शीतलनिवासको यात्रा, त्यो पनि दुवै अध्यक्षको । स्वभाविक रुपमा अन्य नेताहरुमा थप आशंका जन्मियो । उनीहरुले राति नै प्रचण्डलाई महाधिवेशन र राष्ट्रपतिसँगको भेटपछिको प्रगतिबारे सोधखोज गरे ।
नेताहरुको सोधखोजमा प्रचण्डले कुनै सहमति नभएको बरु आइतबार बिहानै खुमलटारमा घट्नाक्रमबारे प्रष्टिकरण दिन आफू तयार रहेको भनी थम्थमाए । त्यसबारे भेटेरै कुरा गर्ने भन्दै नौबजे भेट्न समय नै मिलाइयो ।
अघिल्लो रातको कुराकानी अनुसार आइतबार चार सचिवालय सदस्यसहित केही स्थायी समिति सदस्यहरु खुमलटार पुगे । त्यहाँ प्रचण्डले झण्डै दुई घण्टा ब्रिफिङ गरे । अर्ली महाधिवेशनबारे ओलीले तुरुप फालेको तर आफू त्यसमा सहमत नभएको विश्वास दिलाउन खोजे । प्रचण्डको सो ब्रिफिङ सुनेर झण्डै एक दर्जन नेताहरु खुमलटारबाट बाहिरिए ।
त्यसपछि छ्याङ्ग भयो विवादको चुरो जहाँको त्यही रहेको र अहिलेसम्म सहमतिको नजिक पुग्न लागेको हो कि भनी कामना गरिएको कुरा त ‘डेडलक’कै स्थितिमा पो रहेछ !