३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सीमित नेताहरुलाई मात्र थाहा भएको एउटा प्रसंग छ, जसले असार १० बाट शुरु भएको स्थायी कमिटी बैठक ‘न मरीजाने, न गरीखाने’ अवस्थामा र्पुयाइदिएको थियो ।
प्रसंग हो, स्थायी कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले बहुमत पक्षका नेताहरुलाई दिएको कडा चेतावनी । आफूलाई प्रधानमन्त्री वा अध्यक्षबाट गलहत्याएर निकाले कुर्सी भाँच्दिन्छु, हात छाडे (कुनै एक्सन लिए) उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु भनेर प्रधानमन्त्री ओलीले प्रचण्ड पक्षका नेताहरुलाई केही दिनअघि चेतावनी दिएका थिए ।
ओलीले पछिल्ला भेटमा प्रचण्ड लगायतका नेताहरुलाई भनेका थिए, म यो पदमा टाँसिएर बसिरहन्न । तर, गलहत्याएर निकाल्न खोज्नुहुन्छ भने तपाईहरुलाई दिन्न, यो कुर्सी भाँचिदिन्छु । म आफू हात छाड्दिनँ, तर तपाईहरुले हात छाड्नुभयो भने उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु, त्यसको सामना गर्न तयार हुनुस् ।
आफू अल्पमतमा पर्दा पनि सचिवालय र स्थायी कमिटीलाई आफूविरुद्ध निर्णय गर्न नदिएका ओलीले अहिलेसम्म प्रचण्ड र माधव नेपाललाई भन्दै आएका थिए, ‘अध्यक्ष हुने भए महाधिवेशन पर्खिनुस, प्रधानमन्त्री हुने भए अर्काे चुनावसम्म पर्खिनुस् । प्रचण्ड–माधव समूहको डर शुरुमा ओली हटाउने निर्णय गर्दा उनले संसद विघटन गर्ने, संकटकाल लगाउने, पार्टी फुटाउने जस्ता कदम चाल्छन् कि भन्ने थियो ।
केपी ओलीले भनेका कुर्सी भाँच्ने र हात फर्काउने दुई पदावलिभित्र नेकपाभित्रको संकट सुर्केनी लाग्दै आएको छ ।
बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई हट्न भनेमा उनले नमान्ने घोषणा गरेका थिए । कुर्सी भाँच्छु भनेर उनले आफूलाई हटाए अरु कोही बस्न नसक्ने गरी देशलाई संवैधानिक संकटमा धकेल्छु भनेको अर्थमा प्रचण्ड माधव नेपाल पक्षका नेताहरुको बुझाइ थियो ।
यसको अर्थ ओली आफूलाई प्रचण्ड–नेपाल पक्षले निर्णय गरेर हटाउन् भन्ने चाहन्थे । त्यसैले बारम्बार उनले आफूले दुवै पद नछाड््ने भन्दै जे गर्ने हो गर्नू भनेर चुनौति दिइरहे । यद्यपि बहुमत पक्षका नेताहरु भने केपी ओलीको चेतावनीसामु झुकेको नभई पार्टी विभाजन हुन नदिन आफूहरु हदैसम्म लचिलो बनेको तर्क गर्छन् ।
गठबन्धन भत्काउने प्रयासः
यसबीचमा केपी ओलीले बहुमत पक्षभित्रै खेलेर गठबन्धन भत्काउन प्रयास पनि गरे । यसबाट उनी आफ्नो पदको सुरक्षाका लागि सबै विकल्पको सामना गर्ने तयारीमा छन् भन्ने बुझ्न सकिन्छ । तर, अन्ततः उनले केन्द्रीय कमिटीको बैठकको सामना गर्ने आँट गरेनन् र पछि हटे । प्रचण्ड र माधव नेपाल पक्षले केपी ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा गर्न दबाब दिइरहेका बेला ओली पक्षले भने असार १० यता लगातार अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने बटमलाइन बनाइरह्यो ।
यसवीचमा प्रधानमन्त्री ओली स्थायी कमिटीका सदस्यहरुसँग सम्पर्कमा रहे । उनले गत वैशाखमै स्थायी कमिटी बैठक माग गरेर लिखित निवेदन दिने २० जनामध्येका कतिपय नेताहरुसँग भित्रभित्रै निकटता बढाए । घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले पनि यसवीचमा बालुवाटारमा बाक्लै आउजाउ गरे ।
यसवीचमा ओली पक्षले स्थायी कमिटीमा अल्पमत र बहुमतको आधारमा निर्णय गर्ने प्रक्रियामा गए दुवै पक्षमा नलाग्ने सदस्यहरुको संख्या निणार्यक हुने आशा गरेको देखिन्छ । बैठक माग गर्ने २० मध्ये कम्तिमा ५ जना सदस्यहरुलाई पछिल्लो समय ‘न्युट्रलाइज्ड’ गर्न सफल भइएको ओली पक्षका नेताहरुको दाबी छ ।
पछिल्लो समय टोपवहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल लगायतका स्थायी कमिटी सदस्यहरु केपी ओलीप्रति नरम बनेको ओली निकट नेताहरुको दाबी छ । यसरी ओलीले स्थायी कमिटीमा आफू अल्पमतमा परेपछि अर्काे पक्षको बहुमत तोडफोड गर्दै केही नेतालाई ‘न्युट्रलाइज’ गर्न खोजेको आशंका प्रचण्ड–माधव पक्षको छ ।
ओली पक्षले फेरि गृहमन्त्री बादल आफूहरुसँगै रहेको दाबी गर्न थालेको छ । ओली पक्षका नेताहरु त आजको सचिवालय बैठकसम्म पुग्दा नेकपाको समीकरण फेरि अर्कैतिर पल्टिने दाबी गर्छन् । उनीहरुको संकेत बादल र बामदेवमाथि छ ।
यद्यपी यि अड्कलबाजीहरुको वास्तविकता आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले देखाउने छ ।
नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको हो ।