नेकपाको स्थायी समिति बैठक फेरि स्थगित

नेकपाको स्थायी समिति बैठक फेरि स्थगित

२० असार, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो । स्थायी समितिको अर्काे बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ ।

आज बिहान ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो । शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन ।

दुई दिनअघि पार्टीभित्र देखिएका समस्या समाधानका लागि अध्यक्षद्वय तथा अन्य नेताहरूबीच छलफल गरी समस्या समाधान गर्न भन्दै बैठक स्थगित गरिएको थियो ।
नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि विवाद हुँदै आएको छ ।

विवाद समाधान गर्न जनार्दनको सुझावः

सामाजिक सञ्जाल फेशबुकमार्फत नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले नेकपाभित्रको विवादमा अब दुई नेता अर्थात अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले के गर्लान् भनेर अब हेरेर बस्न नहुने बताउनुभएको छ । उहाँले नेकपाभित्रको विवादलाई सिमित नेताहरुको समस्याको रुपमा मात्र नहेरी यो देश र कम्युनिष्ट आन्दोलनको समस्याको रुपमा देखिएको टिप्पणी गर्नुभएको छ ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेको बेलामा नेता शर्माको यस्तो भनाई आएको हो । उहाँले लेख्नुभएको छ–‘नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ । दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ । म दृढतापुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइदैन । पार्टीलाई विचार,बिधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु हुँदैन । तसर्थ एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं । कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु । “रुपान्तरण सहितको एकता आजको आवश्यकता ”

प्रतिक्रिया:

सम्बन्धित खवर