१४ असार, झापा । रुकुम पश्चिम घटनाको स्थलगत रिर्पाेट शनिवार झापाको दमकबाट सार्वजनिक गरिएको छ । प्रदेश एकका दलित अगुवाहरुको टोलीले तयार पारेको सो रिर्पाेट शनिबार प्रधानमन्त्री केपी ओलीको गृहनगर समेत रहेको झापाको दमकमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
रिर्पाेटमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतिमा भएको सो घटना जातिय भेदभाव र छुवाछुतको परिणाम भएको निष्कर्ष निकालिएको छ । इलामका नवराज शंकर, झापाका हुकुमसिंह नेपाली, हरि पोख्रेल दर्जी र मोरङका उमेश विश्वकर्माको टोलीले तयार गरेको स्थलगत रिर्पाेटमा जाजरकोटका नवराज विक र रुकुम पश्चिमकी सुष्मा मल्लको प्रेम सम्बन्ध परिवार र गाउँलाई जानकारी भएको र घटना भवितव्य नभई नियोजित र योजनाबद्ध भएको जनाइएको छ ।
घटनामा प्रहरी प्रशासनको भुमिका शंकाष्पद र लापरवाही रहेको जनाइएको छ । घटनालाई तोतमोड र ढाकछोप गर्नका लागी हदैसम्मको प्रयास विभिन्न क्षेत्रहरुबाट भएको प्रतिबेदनमा जनाइएको छ । घटनाका दोषीलाई जोगाउँन वडास्तरदेखि संसदसम्म राजनितिक संरक्षण भएको जनाइएको छ ।
प्रतिवेदनले अदालतको फैसलासम्म सवुत र प्रमाणहरु जोगाएर राख्न जटिलता रहेको औल्याएको छ । टोलीका सदस्य नवराज शंकरका अनुसार घटनालाई आलटाल र दबाउन उच्च राजनितिक दबाब रहेको छ । घटनालाई साम्य पार्न प्रहरी अनुसन्धान र पोष्टमार्टम रिर्पाेट र जिल्ला न्यायधिषको भुमिका गतल भएको जनाइएको छ । प्रतिवेदनले विभिन्न सुझाव समेत पेश गरेको छ ।
जसमा पिडितलाई न्याय एवम् राहत ,घाईतेहरुको उपचार र राहत तथा पिडितलाई न्याय र दोषीलाई हदैसम्मको कारबाहीका लागी निरन्तर दबाब आवश्यक भएको बताइएको छ । आवश्यक परे अन्तराष्ट्रिय मञ्चहरुको सहयोग लिन सुझाव दिइएको छ ।
प्रदेश–१ आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता हिक्मत कुमार कार्की, प्रदेश–१ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, पुर्व सांसद दिपक कार्की, निवर्तमान रास्ट्रियसभा सदस्य खेम नेपाली लगायतको उपस्थितिमा सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश–१ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले दोषीलाई जति कारवाही गरे पनि कम हुने बताउनुभयो । उहाँले अहिलेको जमानामा पनि जातियताकै आधारमा विभेद गर्नु अमानविय ब्यवहार भएको बताउनुभयो ।
उहाँले रुकुम पश्चिम घटनाले आफुलाई दुखिद बनाएको भन्दै दोषीले कुनै पनि हालतमा छुटकारा पाउन नहुँने भन्दै उनिहरुलाई कानुन अनुसार हदै सम्मको कारवाही हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश–१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले घटनालाई तोडमोड नगरि दोषिलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश–१ सरकारले समाजमा रहेको छुवाछुत र सामाजिक कुरुती अन्त्यका लागि आगामि आर्थिक वर्षको बजेटमा बजेटको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।