६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता विद्येयकको विषयमा छलफल भएको थियो ।
बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ ।
आजको बैठकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रष्ठले जानकारी दिनुभयो ।
‘नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागारिकताको प्रावधानवारे छलफल गरेर निष्कर्ष निकालिएको छ । जसमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ बर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागारिकता वा त्यस्तै कागजात भए त्यसलाई त्यागेको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागारिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।