भारतको अवरोधले १५ दिन देखि नेपाली बस्तु काकरभिट्टा नाकामा अलपत्र

भारतको अवरोधले १५ दिन देखि नेपाली बस्तु काकरभिट्टा नाकामा अलपत्र


५ आश्विन, झापा । भारतको पश्चिम बंगाल प्रदेश सरकारले १५ दिनदेखि निर्यात अवरोध गर्दा नेपालबाट भारत निर्यात हुन लागेका २२ ट्रक नेपाली उत्पादन मेची पुलमा अलपत्र परेको छ ।

अहिले दैनिक रुपमा भारतबाट आयात हुने सामानहरु नेपाल आयात भईरहेका छन । तर नेपाली वस्तु निर्यात गर्न भारतले अवरोध गरेको छ । जसका कारण नेपाली व्यवसायीले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको छ ।

नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका एक व्यवसायीका अनुसार नेपालको सबै भन्सार प्रक्रिया पुरा गरेर नेपाली वस्तु भारत निकासी गर्न लाग्दा भारतले अवरोध गरे पछि १५ दिन देखि अलपत्र अवस्थामा करोडौं मुल्यका बस्तु सडकमा अलपत्र अवस्थामा छ ।

‘भारतीय प्रहरीले भारत प्रबेश गर्न दिएकै छैन । बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोकेको छ ।’ ती व्यवसायीले भने ‘मेचीपुलबाट गाडी अगाडि जान नदिएपछि नेपाल फर्काउन पनि गाह्रो भएको छ । २२ वटा गाडी मेची पुलमा अलपत्र छन् ।’

एक भन्सार एजेन्टका अनुसार २२ ट्रक मध्ये १० वटामा अलैँची छ भने १२ वटामा चिया छ । २ वटा ट्रक भन्सार कार्यालयमा छन् । सबै गाडीका चिया र अलैंची भारत निर्यात हुँदै आएको छ ।

मेची भन्सार कार्यालयका अनुसार नेपाली कृषि जन्य उत्पादन निर्यात गर्न बंगाल सरकारले अवरोध गरेको हो । भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने ठाडो आदेश भारतीय प्रहरीलाई त्यहाँको सरकारले दिएपछि लामो समयदेखि नेपाली सामान सीमामा रोकिएका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर