४ आश्विन, इलाम । ग्राहकहरुको मिटर रिडिङमा ठगी गरेको भन्दै २ जना कर्मचारीमाथी नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले अनुसन्धान सुरु गरेको छ ।
इलाम वितरण केन्द्र मातहतको चुलाचुली फ्युज सेवा अन्र्तगत वडा नं १ का ग्राहकहरुको मिटर रिडिङमा ठगी गरेको भन्दै दैनिक ज्यालादरी कर्मचारी डिल्लीराम खतिवडा र गोटागन्ती मिटर रिडर रन्जु खतिवडा विरुद्ध वितरण केन्द्रले अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
उनीहरु विरुद्ध उजुरी परेपछि वितरण केन्द्रका इलामबाट लेखा प्रमुख रविन्द्र आर्चाय नेतृत्वको टोली निवेदन बारे बुझ्न चुलाचुली पुगेको थिए । तर आक्रोशित स्थानियबासिन्दाको भिडले सहज रुपमा छानबिन गर्न नदिएको टोलीले बताएको छ ।
लकडाउनको समयमा मिटर रिडिङ गर्न सम्भव नभएपछि प्राधिकरणले कुनै पनि ग्राहकले फाल्गुन महिनाको युनिटलाई आधार मानि चैत्र र बैशाखको पोष्टिङ गर्ने परिपत्र भए अनुसार नै गरिएको थियो । तर जेष्ठ महिनाको रिडिङ गर्ने क्रममा बढी खपत युनिट देखिर ग्राहकबाट धेरै महशुल उठाएको स्थानियहरुले आरोप लगाएका छन् ।
त्यहाँको महशुल संकलन केन्द्र मार्फत हुने भुक्तानी र अनलाईन भुक्तानी मार्फत गरिने भुक्तानिमा ब्यापक फरक देखिएको स्थानियले बताएका छन् । मासिक अनुमानित डेढ देखी २ लाख सम्म ठगी हुने गरेको भन्दै उनिहरुले आक्रोश व्यक्त गरेका थिए ।
ठगीमा उजुरी परेका मिटर रिडर रन्जु खतिवडाको मिटर रिडिङ करार सेवाको सम्झौता रद्ध गरिएको कार्यालय प्रमुख पंकजकुमार गोइतले बतायनुभयो । त्यसैगरी दैनिक ज्यालादारी कर्मचारी डिल्लीराम खतिवडा बिरुद्धको उजुरीको बिषयमा छानविन प्रक्रिया टुङ्गा नलागेसम्म हाजिर रोक्का गरिएको छ ।
उक्त क्षेत्रको विद्युत सेवा सुचारु राख्न नोलाइट तथा मिटर सिकायतको लागि नयाँ कर्मचारी पठाइसकिएको गोइतले बताउनुभयो । उजुरी परेका दुवै जनाको बारेमा छानविनको लागि कमिटि गठन गरिदिन प्रदेश–१ विद्युत् वितरण कार्यालय विराटनगरमा पत्रचार उहाँले बताउनुभयो ।