
३१ जेष्ठ, झापा । झापा जिल्लाका जम्मा ९५ जना कोरोना संक्रमितले संक्रमणलाई जितेर घर पर्किएका छन् । संक्रमण पुष्टि भएपछि विराटनगरको कोशी अस्पताल र सुनसरीको विपि प्रतिष्ठानमा उपचारारत उनिहरुले कोरोनालाई जितेर संक्रमण मुक्त भएका हुन् ।
जिल्ला व्यवस्थापन सहायता कक्ष झापाका सचिव जीवन चौलागाईँका अनुसार पहिलो पटक ११ बैशाखमा झापा दमक नगरपालिका–३ का ४६ वर्षीय पुरूषमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।
जेठ ३० सम्ममा जिल्लाका १३ वटा पालिकाका एक महिलासहित एक सय ६९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । उमेर समुहका आधारमा पुष्टि हुनेमा १५ वर्षदेखि ६७ वर्षसम्मका रहेका स्वास्थ्य कार्यालय झापाका महामारी रोग कार्यक्रमका फोकल पर्सन समेत रहनुभएका चौलागाईँले जानकारी दिनुभयो ।
जिल्लाको विर्तामोड र शिवसताक्षी नगरपालिकाबाहेक अन्य पालिकामा नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण फेला परेको छ । सवैभन्दाबढी कचनकवल गाउँपालिमा १ सय २६ तथा कम्ति कमल र झापा गाउँपालिकामा १–१ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कचनकवलपछि गौरीगञ्ज गाउँपालिकामा १२, हल्दीवारी गाउँपालिकामा २, बुद्धशान्ति गाउँपालिकामा ५ र बाह्रदशी गाउँपालिकाका ६ जनामा यसको संक्रमण पुष्टि भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । अहिलेसम्म कोभिड १९ संक्रमण पुष्टि भएका सवै क्वारेण्टिनमा बसेका मात्र हुन् ।
यसैगरी भद्रपुर नगरपालिकाको क्वारेण्टिनमा रहेका ४, मेचीनगर र अर्जुनधारा नगरपालिकाको क्वारेण्टिनमा बसेका २–२ जनामा यसको संक्रमण पुष्टि भएको सचिव चौलागाईँले जानकारी दिनुभयो । कन्काई, दमक र गौरादह नगरपालिकाको क्वारेण्टिनमा बसेका क्रमश ३, १ र ४ जनामा नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण ३० जेठसम्ममा पुष्टि भएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७