३० जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको बताउनुभएको छ ।
आज स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिनुभएको हो ।
उहाँले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको पनि बताउनुभयो ।
पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय देशभर सरकारविरुद्ध भइरहेका प्रदर्शनहरूलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरू बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरू बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’
ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरनाविरूद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताउनुभयो ।
पछिल्ला १–२ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उहाँको भनाइ छ ।