३० जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले ४४८ संक्रमित थपिएको जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका संक्रमितमध्ये ४२४ पुरुष र २४ महिला छन् । आज अहिलेसम्मकै सर्वाधिक संख्या बढेको छ । यसअघि हिजो २ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ४ हजार ६ सय १४ पुगेको थियो ।
यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा उनी बसेका थिए ।
ती पुरुषमा स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा उनको बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । उनको मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिनुभयो ।