
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आजको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अर्थ तथा सञ्चारमन्त्री समेत रहनुभएका मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिनुभयो । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।
यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु खुला गरिएको खतिवडाले बताउनुभयो । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन ।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ ।
यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न रोक लगाइएको छ । यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताउनुभयो ।
यस्तै सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।
असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् ।
आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
सरकारले चैत्र ११ गते लकडाउन सुरु गरेदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द थिए ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७