२९ जेष्ठ, काठमाण्डौँ । सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।
एक मन्त्रीकाका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ ।
गत चैत्र ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।
बैठकले आजदेखि विभिन्न चरणमा लकडाउन खुकुलो गर्दै जाने भएको छ । पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ ।
लामो दुरीको यात्रामा रोक लगाइएको छ । लकडाउनको २१ दिन अनुगमन गरी अर्काे ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन् । अबको २१ दिनपछि अर्काे १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइनेछ ।
त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन्। सरकारी कार्यालय असार १ बाट खुल्नेछन् । पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चराणमा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुल्नेछन् ।