२४ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज एकै दिन दुईजना मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।
मृतकमध्ये डोल्पाका ५८ वर्षीय पुरुष र कैलालीकी ५५ वर्षीया महिला छन् । उनीहरु दुवैको मृत्युपछि नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिनुभयो ।
जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको २१ जेठको विहान २ बजे मृत्यु भएकोमा स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको पुष्टि भएको हो । सुर्खेतमा कामको सिलसिलामा अस्थायी रुपमा बस्दै आएका उनी १६ जेठमा डोल्पा पुगी घरमै बसेका थिए । उनको होम क्वारेन्टाइनमै मृत्यु भएपछि परीक्षणका लागि स्वाब लगिएको थियो ।
कर्णाली प्रवेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीका अनुसार उनी दम रोगी रहेका थिए । उनको जेठ २१ गते मृत्यु भएको थियो । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।
त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।