२३ जेष्ठ, काठमाण्डौँ । सरकारले क्वारेन्टिनमा भएका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्ने बताएको छ ।
पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि सरकारले कोरोना भाइरस परिक्षणको नयाँ निर्देशिका जारी गर्दै प्राथमिकताका आधारमा पिसिआर परीक्षण गर्ने नीति लिएको हो ।
नयाँ निर्देशिकामा सरकारले पिसिआर परीक्षणको लागि तीन वटा प्राथमिकता तय गरेको छ ।
निर्देशिकामा पहिलो–आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण गर्ने भनिएको छ ।
दोस्रो– फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, जोखिममा काम गर्ने सुरक्षाकर्मी, सरसफाइमा खटिने कर्मचारी, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी जो कोरोनाको शंकास्पद पनि छन् त्यस्ता व्यक्तिको पनि पिसिआर परीक्षण गर्ने भनिएको छ ।
यस्तै धेरै संक्रमण फैलिएको समुदायका व्यक्ति र लक्षण भएका व्यक्तिलाई पिसिआर परीक्षणको तेस्रो प्राथमिकतामा राखिएको छ ।
यसबाहेक ज्वरो, स्वासप्रस्वासमा समस्या भएका, छाती दुख्ने, पखला लाग्ने, घाँटी र मांशपेसी दुख्ने र खोकीको लक्षण भएका व्यक्तिहरूको पनि पिसिआर परीक्षण जनाईएको छ ।
क्वारेन्टिनमा छ तर लक्षणविहीन अवस्था छ भने त्यस्ता व्यक्तिको पिसिआर परीक्षण गर्न नपर्ने निर्देशिकामा उल्लेख छ । यद्यपी क्वारेन्टिन बसाइँको १४ दिनपछि सबैको आरडिटी परीक्षण गरिने छ ।
उता सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु भएको थियो । हिजो विहान २ः१५ मा उनको मृत्यु भएको हो ।
उनको मृत्युपश्चात स्वाब संकलन गरी प्रदेश अस्पताल, सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको र आज मृतक कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताउनुभयो ।