२० जेष्ठ, सुनसरी । सुनसरी जिल्लामा रहेका विभिन्न क्वारेन्टाईनको सुधारका लागि अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीको अध्यक्षतामा रेहको टोलीले जिल्लामा रहेका स्थानिय तहहरुका क्वारेन्टाईनहरुको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीले पालिकाहरुमा संञ्चालन गरिएका क्वारेन्टाईनको अवस्था राम्रो रहेको पाईएपनि विद्यालयहरुमा संचालन गरिएको क्वारेन्टाईनमा सुधार गर्नुपर्ने औल्याएको छ ।
ती क्वारेन्टाईनले क्वारेन्टाईन सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको कार्याविधि २०७६ अनुसार नै सञ्चालनमा रहेको र केहीको अवस्था कमजोर भएकाले सुधारका लागि आग्रह गरेको र केही ठाउँमा निर्देशन दिने काम भएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
जिल्लामा हाल १९ वटा क्वारेन्टाईन सञ्चालनमा रहेका छन् । कतिपय क्वारेन्टाईनमा कुनै पनि संकास्पद कोरोनाका बिरामी अहिले रहेको छैन । क्वारेन्टाईनमा ३९० जना व्यक्तिहरु रहेका छन् ।
जिल्लाको सीमावर्ती क्षेत्रका पालिकाको क्वारेन्टाईनमा बढी व्यक्तिहरु रहेकाले कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा क्वारेन्टाईनको संख्या बढाएको अनुगमनको क्रममा पाइएको अनुगमनमा रहनुभएका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. सूर्यनारायाण मेहताले जानकारी दिनुभयो ।
टोलीले इनरुवा नगरपालिकाको भगवती मा.वि. क्वारेन्टाईन, नयाँ बस पार्क क्वारेन्टाईन, भोक्राहा नरसिंहको जनता मावि क्वारेन्टाईन, जामिया मदर्शा क्वारेन्टाईन, कोशीको राजापोखरी क्वारेन्टाईन, कुम्याही क्वारेन्टाईन,राष्टिय आधारभुत विद्यालय क्वारेन्टाईन, बराहक्षेत्रको जनता मा.वि. मधुवन क्वारेन्टाईन, प्रकाश मा.वि. प्रकाशपुर क्वारेन्टाईन, महेन्द्र मा.वि. क्वारेन्टाईन, रामधुनीको झुम्का कृषि तालिम केन्द्र क्वारेन्टाईनमा अनुगन गरिएको हो । जिलामा सञ्चालनमा रहेको क्वारेन्टाईन मध्ये जामियामा बढी संख्यामा भारतबाट आएका व्यक्तिहरु राखिएको छ ।
अनुगमनका क्रममा अहिले क्वारेन्टाईनहरुमा खानेपानी, चार पटक खानाको व्यवस्था गरेको पाइएको जिल्ला व्यवस्थापन समितिका संयोजक गोपालराज भण्डारीले बताउनुभयो ।