१८ जेष्ठ, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ । बाजुराकी दुई वर्षिया बालिकाको आज बिहान २ः३० बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित बिफ्रिङमार्फत जानकारी दिनुभएको छ ।
बालिकाको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । संक्रमित बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा १५ गते भर्ना गरिएको थियो । उनको बाजुरा जल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ । त्येसैगरी नेपालमा १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २२० जना उपचारपछि निको भै घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक जाना र स्याङजाका २ जना गरी ३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना गरी ३७ जना, सुर्खेतमा सल्यानका २५ र सुर्खेतका १ गरी २६ जना, धुलिखेलमा कपिलवस्तुका १ जना, भेरी अस्पतालमा बाँकेका ८ जना, धरानमा गरिएको परिक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ र बाजुराका २ जना गरी ५ जना, कोसी अस्पतालमा झापाका ४ र मोरङका १ गरी ५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जना गरी ६४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
यससँगै देशभर १ हजार ४ सय ५० पुरुष र १ सय १७ महिला गरी कुल १ हजा ५ सय ६७ जनामा संक्रमण देखिएको हो । आज संक्रमण हुने १ य ६६ मध्ये १ सय ६२ पुरुष र ४ जना महिला रहेका छन् ।
यसैगरी प्रदेश नम्बर १ मा १ सय ३५, प्रदेश नम्बर २ मा ५ सय १९, बागमती प्रदेशमा १४ र गण्डकी प्रदेशमा २० जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ५ सय ९, कर्णाली प्रदेशमा १ सय २२ र सुदूरपश्चिम प्रदेशमा २० जना गरी १ हजार ३ सय ४९ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।
पीसीआर विधिबाट अहिलेसम्म ६९ हजार ५ सय ८२ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडिटी विधिबाट ४ हजार ५४ जनाको नमुना परीक्षण भएको छ ।