११ जेष्ठ, सुनसरी । सुनसरीको धरान–१४ विजयपुरमा चौकको नाम राख्ने बिषयमा विवाद हुँदा दुई समूह बिच झडप भएको छ । झडपमा परि धरान–१४ का दलित महिला सदस्य सहित ३ जना घाइते भएका छन् ।
धरान–१४ को बमधारा मार्गमा भर्खरै नामकरण गरिएको शिवजी चौकको नाममा विवाद भएको थियो । शिवजी चौक भन्दा युवाहरूलाई लक्षित गरेर गजाडी भन्न खोजेको आरोप लगाउँदै केही युवाहरूले विरोध गर्दै आएका थिए ।
हिजो स्थानीय केही युवाहरूले शिवजी चौक लेखिएको बोर्ड फुटाई दिएकोमा स्थानीयवासी र स्थानीय युवाहरूबिचमा विवाद हुँदा आज बिहान झडप भएको प्रहरीले जनाएको छ ।
झडपको क्रममा धरान १४ का दलित महिला सदस्य मनीषा विक, पूर्व प्रहरी हवल्दार झलक तामाङ र स्थानिय सुरज विक घाइते भएका छन् । उनीहरूलाई बियरको बोतल र चिर्पटले प्रहार गरिएको बताइएको छ । घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
झडपमा चिर्पट र बोतल प्रहार गर्ने ५ जनालाई भने प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार बाबुराम अधिकारी, अर्जुन तामाङ, पदम तामाङ, गणेश कार्की र मनोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकालाई थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।