९ जेष्ठ, सुनसरी । सुनसरीको दुहबी–९ स्थित सप्तरीया टोलमा मरेको कुकुर नफाल्न आग्रह गर्दा कुटाई खाएका गाउँलेले न्याय नपाएको गुनासो पोखेका छन् ।
गत आइतबार दुहबी–९ स्थित छाताबेली गाउँका युवाहरुले सप्तरीया नमुना टोल नजीक रहेको नहरको डिलमा मरेको कुकुर फाल्न लाग्दा सप्तरीया टोलका स्थानियहरुले गाउँ नजिक नफाल्न आग्रह गरेका थिए । तर मरेको कुकुर छोडेर गएका ति युबाहरुले छाताबेली गाउँबाट अन्य युबाहरुलाई समेत लिएर समुह बनाई सप्तरीया टोलका स्थानियहरुलाई आक्रमण गरेका थिए । युवाहरुको आक्रमणमा परी सप्तरीया टोलका करिब दर्जन बढी घाइते भएका छन् ।
सप्तरीया टोलका घाइतेहरु चन्दन चौधरी, सतिस चौधरी, प्रबीण चौधरी, सिंदुर चौधरी, शन्तीदेवी चौधरी, राजेश चौधरी, दस्नीदेवी चौधरी, प्रभुराम चौधरी, बासुदेब चौधरी र अशोक चौधरी रहेका छन् । उनीहरुलाई सोही दिन दुहबी स्थित जीबन ज्योति स्वास्थ्य सेवा प्रा.ली.मा उपचार गरेर घर फर्काईएको पीडित पक्षका अनिल चौधरीले बताउनुभयो ।
उक्त घटना भए लगत्तै इलाका प्रहरी कार्यालय दुहवीलाई जानकारी गराएपनि प्रहरीको टोलीले घटना स्थलमा आएर समेत उनीहरुलाई नियन्त्रणमा लिन नसकेको पिडितहरुले बताएका छन् ।
सो घटना भएको भोलीपल्ट ईलाका प्रहरी कार्यालय दुहबीमा निवेदन दिदा समेत प्रहरीले पिडकलाई पक्राउ नगर्दा न्याय नपाएको र कानुनी राज्यको उपहास भएको घाइते महिला शान्तीदेवी चौधरीले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रविण कार्कीले कोभिड–१९ को महामारीको बहाना देखाई दुबै पक्षलाई मिल्न दबाब दिएको स्थानियले आरोप लगाएका छन् । प्रहरीमा निवेदन दिने अनिल कुमार चौधरीका अनुसार पिडक गाउँमा घुमीरहेको अवस्थामा प्रहरीले उनीहरुलाई समात्नुको साटो उल्टै पीडितलाई मानसिक पीडा दिएकोले मानव अधिकार संस्था इन्सेकमा समेत निवेदन दिएको जनाउनुभयो ।
सामान्य विषयलाई लिएर छाताबेली गाउँका मो. मकसुद, मो. आदम, मो. रहिस, मो. वासिद, मो. सिटर लगायत १३ जनाको समुहले आक्रमण गरेको निवेदनमा उल्लेख गरिएको छ ।
उता ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रविण कार्कीसंग बुझ्दा आफुले कुनै दबाब नदिएको तथा घाइतेहरुको घाउ जाँच फारम भैसकेकोले लकडाउन पछि मात्र कानुनी कार्वाही अगाडी बढाउने बताउनुहुन्छ ।