६ जेष्ठ, काठमाण्डौँ । उद्योग तथा आपुर्तिमन्त्री लेखराज भट्टले एमसीसी र इन्डोपेसिफीकलाई जोड्नु बुझाइमा कामजोरी भएको टिप्पणी गर्नुभएको छ । उहाँले एमसीसी प्रस्ताव आफुलाई ठिक लागेको र राम्रोसँग नबुझेकाले मात्रै त्यसको विरोध गर्ने गरेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा एमसीसीको बारेमा उल्लेख नभएको समेत दावी गर्नुभएको छ । बाटो बनाउने, विद्युत सेवा विस्तार गर्ने योजनामा एमसीसीको गन्ध आयो भन्नु भ्रमण मात्रै भएको उहाँको भनाई रहेको छ ।
नेकपाकै अर्का नेता भिम रावलले नीति तथा कार्यक्रममा एमसीसीका कार्यक्रमहरुलाई समेटिएको भन्दै आपत्ति जनाइरहेका बेला भट्टले त्यसको खण्डन गर्नुभएको हो । सुदुरपश्चिमबाट केन्द्रीय राजनीतिमा रहेका भट्टले सुदुरपश्चिमकै अर्का केन्द्रीय नेता रावलप्रति कटाक्ष गर्दै पुर्वाग्रह राखेर राष्ट्रवादी नभइने टिप्पणी गर्नुभयो ।
उहाँले केही नेताहरु कुण्ठा र पुर्वाग्रहबाट ग्रसीत भएर आफुलाई राष्ट्रीयतावादी र लोकप्रियतावादी देखाउन खोजेको आरोप पनि लगाउनुभयो । उहाँले प्रतिप्रश्न गर्दे भन्नुभयो, ‘मोटर ल्याउने तर बाटो नबनाउने भन्ने हुन्छ र ?’
नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य समेत रहनुभएका सांसद् भीम रावल केही समय यता आफ्नै पार्टी नेतृत्व र सरकारको कटुआलोचक बन्नुभएको छ । उहाँ आलोचनामा अग्रपंक्तिमा देखिनुहुन्छ । उहाँले भारतले लिपुलेक भएर बनाएको व्यापार मार्गको पनि विरोध गर्दै आउनुभएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत भईसक्नुभएका रावल अहिले सरकारको विरुद्धमा खरो रुपमा उत्रिनु भएको छ ।