४ जेष्ट, बाँके । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको छ ।
यसअघि हिजो मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताउनुभएको छ ।
‘उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भन्नुभयो ।
आज बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए ।
भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् ।