३१ वैशाख, जनकपुरधाम । धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।
यस्तै हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको बताइएको छ ।
प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् । धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । यस्तै ३४ जना निको भएर घर फर्किएका छन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या एक रहेको छ । नयाँ संक्रमित बाँके जिल्ला नेपालगंज वडा नम्बर ८ का निवासी ३६ वर्षीया पुरुष हुन् ।