३१ वैशाख, काठमाण्डौँ । नेपालमा फेरि मंगलबार(हिजो) साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हिजो बिहान मात्र ५७ जनामा कोरोना पुष्टि भएको थियो ।
साउदीमा ६ सय ७४ नेपालीलाई कोरोनाको सङ्क्रमणः
उता नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन–तीन तथा अन्य स्थानमा ९ नेपालीमा सङ्क्रमण देखिएको छ ।
साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ ।
सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ। सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ ।
साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९ सय २५ पुगेको छ ।
सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ ।