३० वैशाख, काठमाण्डौँ । लकडाउन झन कडा हुने भएको छ । आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको छ । एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाई गर्न निर्देशन दिनुभएको छ । उहाँको निर्देशनसँगै चेकजाँच कडा हुन थालेको छ ।
भारतमा आप्रवासी मजदुरहरुलाई घर जान दिन विशेष रेल र सार्वजनिक यातायात चल्न दिएपछि तराईका जिल्लाहरुमा संक्रमण बढेकोबारे पनि मन्त्रिपरिषदमा गम्भीर छलफल भएको बुझिएको छ । सीमामा कडाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बुझिएको छ ।
भारतसँगको सीमाबाट लुकिछिपि छिर्नेको संख्या बढेको छ । पछिल्लो समय संक्रमित भेटिएकाहरु पनि लुकिछिपि बढेकाहरु नै छन् ।
यसैगरी, सडकमा अत्याधिक सवारी साधन गुड्न थालेको र जाम समेत हुनथालेकोमा प्रधानमन्त्रीले चासो लिनुभएको छ । योसँगै अब सवारी सञ्चालनमा समेत कडाई हुने र पास विना चल्न नपाइने गरी कडाई गर्न लागिएको बुझिएको छ ।
लिपुलेकमा भारतले सडक बनाएको कुरा कसैले जानकारी नदिएको भन्दै प्रमको असन्तुष्टिः
यसैबीच प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले सडक बनाएको कुरा आफूलाई कसैले जानकारी नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
भारतको उक्त कदमपछि नेपालमा पुत्ला दहन र नारावाजी गरेर समस्या समाधान नहुने पनि बताउनुभएको थियो ।
‘समस्या समधान गर्न कुटनीतिक प्रयास भइरहेको छ । म पनि त्यसका लागि प्रयास गर्छु’, प्रधानमन्त्रीको भनाई थियो । उहाँले भारतले सडक खनेको छ भन्ने आफूले पनि समाचारबाट थाहा पाएको बताउनुभएको थियो ।
‘यदि त्यसो हो भने यो गलत छ,’प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभएको छ । बैठकमा सरकारले आगामी बर्षका लागि ल्याउने नीति तथा कार्यक्रममाथि सामान्य छलफल भएको थियो ।