नेपालका किशोरकिशोरी भविष्यप्रति, आर्थिक सम्भावना र राजनीतिक परिस्थितिप्रति बढी आशावादी

नेपालका किशोरकिशोरी भविष्यप्रति, आर्थिक सम्भावना र राजनीतिक परिस्थितिप्रति बढी आशावादी

काठमाडौं । नेपालका किशोरकिशोरी आफ्नो व्यक्तिगत भविष्यप्रति मात्रै होइन, आर्थिक सम्भावना र राजनीतिक परिस्थितिप्रति समेत विश्वका अन्य देशका विद्यार्थीभन्दा बढी आशावादी देखिएका छन् । बेलायतस्थित अक्सफोर्ड स्कोलास्टिका एकेडेमीले सार्वजनिक गरेको Global Student Optimism Report 2025 अनुसार समग्र भविष्यप्रतिको आशावादमा नेपाल विश्वका ४० देशमध्ये तेस्रो स्थानमा छ ।

सन् २०२४ र २०२५ मा आयोजित अक्सफोर्ड स्कोलास्टिका निबन्ध प्रतियोगितामा सहभागी १४ देखि १८ वर्ष उमेर समूहका १ हजार ३२३ विद्यार्थीमाथि गरिएको सर्वेक्षणमा नेपालले ५ अंकको स्केलमा ४ं.२४ अंक प्राप्त गरेको छ । नेपालभन्दा अगाडि श्रीलंका ४.३३ र केन्या ४.३१ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन ।

नेपालपछि काजकिस्तान ४.१७ अंकसहित चौथो स्थानमा छ भने साइप्रस र क्यानडा समान ४.०० अंकसहित पाँचौं स्थानमा छन् । समग्र आशावादको विश्व औसत ३.८० रहेको अध्ययनमा नेपाली विद्यार्थीको विश्वास त्यसभन्दा उल्लेख्य उच्च देखिएको छ ।

अध्ययनको सबैभन्दा उल्लेखनीय नतिजा व्यक्तिगत भविष्यप्रतिको आशावादमा नेपाल पहिलो स्थानमा हुनु हो । शिक्षा, करिअर, व्यक्तिगत लक्ष्य र सम्बन्धजस्ता विषयमा नेपाली विद्यार्थीले औसत ५ मा ५ अंक दिएका छन्। यस्तो पूर्ण अंक प्राप्त गर्ने नेपाल सर्वेक्षणमा सहभागी ४० देशमध्ये एक मात्र देश हो ।

व्यक्तिगत भविष्यप्रतिको यो भरोसाले नेपाली किशोरहरू आफ्नो जीवनमा सफलता हासिल गर्न सक्ने, लक्ष्य पूरा गर्न सक्ने र भविष्य निर्माण गर्न सक्ने क्षमताप्रति उच्च आत्मविश्वास राखेको देखाउँछ ।

व्यक्तिगत आशावादको विश्व औसत ४.४२ छ । नेपालपछि आर्मेनिया, ब्राजिल र साइप्रस समान ४.८६ अंकसहित दोस्रो स्थानमा छन् भने श्रीलंका ४.७५ अंकसहित पाँचौं स्थानमा छ ।

आर्थिक भविष्यप्रतिको आशावादमा पनि नेपालले विश्वकै पहिलो स्थान हासिल गरेको छ । भविष्यमा रोजगारीका अवसर, आर्थिक स्थिरता र आफ्नो आर्थिक अवस्था सुधार गर्न सकिने विश्वाससम्बन्धी प्रश्नमा नेपाली विद्यार्थीले औसत ४.८० अंक दिएका छन् ।

यसमा काजकिस्तान ४.५६ अंकसहित दोस्रो, क्यानडा ४.५० सहित तेस्रो, केन्या ४ं.४० सहित चौथो र संयुक्त अरब इमिरेट्स (यूएई) ४.४५ सहित पाँचौं स्थानमा छन ।

विश्वभरका विद्यार्थीको आर्थिक भविष्यप्रतिको आशावाद औसत ४ंं.१५ रहेको छ । प्रतिवेदनले राष्ट्रिय आर्थिक अवस्था वा देशको सम्पन्नतासँग मात्र विद्यार्थीको आर्थिक सफलताप्रतिको विश्वास जोडिएको नदेखिएको उल्लेख गरेको छ ।

नेपालको नतिजाले देशभित्र आर्थिक चुनौती, रोजगारीको दबाब र विदेश पलायनको बहस चलिरहँदा किशोर पुस्तामा भविष्यमा आर्थिक रूपमा सफल बन्न सकिने विश्वास बलियो रहेको संकेत गर्छ ।

राजनीतिक स्थिरता, सरकारको काम, नीतिगत निर्णय र अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको विश्वास मापन गरिएको राजनीतिक आशावादमा नेपाल ४० देशमध्ये दोस्रो स्थानमा छ ।

नेपालले ५ मा ३.८0 अंक प्राप्त गरेको छ। केन्या ३.६ अंकसहित पहिलो, काजकिस्तान ३.७६ सहित तेस्रो तथा उज्बेकिस्तान र रुस समान ३.७१ अंकसहित चौथो स्थानमा छन्।

विश्वभर राजनीतिक भविष्यप्रतिको आशावाद औसत ३.२५ मात्रै छ। सर्वेक्षणका चार पक्षमध्ये राजनीतिक आशावाद विश्वभर सबैभन्दा कमजोर देखिएको छ।

नेपालको राजनीतिक आशावाद व्यक्तिगत र आर्थिक आशावादभन्दा केही कम भए पनि अन्तर्राष्ट्रिय तुलनामा उच्च देखिएको छ। राजनीतिक अस्थिरता, सरकार परिवर्तन र नीतिगत अनिश्चितताका बीच नेपाली किशोरको राजनीतिक भविष्यप्रतिको विश्वास तुलनात्मक रूपमा बलियो रहेको अध्ययनको नतिजा हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर