चुलाचुलीमा अवैध काठ बरामद

चुलाचुलीमा अवैध काठ बरामद

२६ साउन, इलाम । चुलाचुली गाउँपालिका–६ बेलचोकमा ठुलो परिमाणमा सखुवाको अवैध फेन्टा र काठ बरामद गरिएको छ। स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचरमा लुकाएर राखिएको सालको चिरान काठ फेन्टासहित बरामद गर्नका लागि वन प्रशासनले सशस्त्र प्रहरी बलको सहयोग लिएको हो ।

अवैध रूपमा काठ सङ्कलन गरी फर्निचर उद्योग सञ्चालन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा २४ गते वन कार्यालयको टोलीले छापा मार्दा साल र साज (असना) जातको चिरान काठ फेला पारेको थियो ।

बरामद काठमध्ये साल जातको ५८७ थान (४६५.०५ क्युफिक) र साज जातको ६ थान (६.२५ क्युफिक) गरी जम्मा ५९३ थान अर्थात् ४७१.३० क्युफिक परिमाण रहेको छ। उक्त काठको बिगो आठ लाख १७ हजार ३३५ रुपैयाँ बराबर रहेको डिभिजन वन कार्यालय, इलामका सूचना अधिकारी भुवनमणि शर्माले बताए ।

अवैध काठ सङ्कलन गर्ने विश्वकर्मा लगायतका व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय इलामका वन सहायकद्वय धनिरामसिंह कुशवाह र सीता योगीको संयुक्त कमान्डमा खटिएको टोलीले काठ बरामद गरेको थियो। उक्त टोलीले माई सब डिभिजन वन कार्यालय सुखानी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको सहयोगमा काठ नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर