मुलुककै उत्कृष्ट इलामका पर्यटकीय स्थलहरु सुनसान

मुलुककै उत्कृष्ट इलामका पर्यटकीय स्थलहरु सुनसान

२७ वैशाख, इलाम । मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य इलामको श्रीअन्तु र सन्दकपुरबाट सूर्याेदय अनि सूर्यास्तको दृश्य हेर्न आन्तरिक तथा वाह्य पर्यटक झुम्मिने मुख्य सिजन हो अहिले ।

तर श्रीअन्तु, सन्दकपुरलगायतका उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न कोही पर्यटक देखिन्छ, न त मानिसको भिडभाड छ ।
इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । प्राकृतिक सुन्दरता, हरियाली चियावगान र शान्त वातावरण इलामको विशेषता हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने श्रीअन्तुबाट सन्दकपुरसम्म पर्दछन् । जुन गन्तव्यहरु सूर्याेदय र सूर्यास्तका लागि अब्बल मानिन्छन् । तर कोरोना भाइरसका कारण भने अहिले पर्यटकको आवागमन ठप्प छ ।

पर्यटकको बाक्लो नै उपस्थिति हुने यस बेलामा पर्यटक नहुँदा सबै होमस्टे र होटल सुनसान छन् ।

पर्यटकीय क्षेत्रहरु कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर, पानीटार, कुइभिर ढाप पोखरीजस्ता क्षेत्र सुनसान भएको पर्यटन व्यवसायी बताउँछन् । भारतीय बाटो भएर आउने पर्यटकको संख्या शून्यजस्तै छ ।

वनभोज र भ्रमणमा आएका पर्यटकले भरिभराउ हुने कन्याम सुनसान भएपछि त्यहाँ व्यवसाय गर्ने व्यवसायीलाई हातमुख जोर्न समस्या पर्न थालेको छ । कन्यामका होटल सञ्चालक टेकराज गिरीले पर्यटक आउन छोडेको एक महिनाभन्दा बढी भएको बताउनुभयो । उहाँले भन्नुहुन्छ, “कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् । फागुन सुरु भएपछि झुल्के घाम हेर्न र सूर्याेदयको दृश्यावलोकनका लागि आउनेको ताँती हुन्थ्यो । तर यसपालि सुनसान छ ।”

कन्याममा १०० व्यावसायिक ट्रली–ठेला सञ्चालनमा रहे पनि पर्यटकको चाप घटेपछि १५/२० मात्र सञ्चालनमा रहेको स्थानीय व्यवसायी गोपाल गिरीले जानकारी दिनुभयो । पर्यटक आउन छाडेपछि ठेला व्यवसायीले नगरपालिकालाई बुझाउनुपर्ने कर तिर्नसमेत समस्या पर्न थालेको व्यवसायीहरु बताउँछन् ।

उता झुल्के घाम हेर्न र सूर्याेदयको दृश्यावलोकनका लागि दैनिक हजाराँै पर्यटक पुग्ने अन्तुडाँडा पूरै सुनसान भएको स्थानीय घरवास व्यवसायी रुद्र घिमिरेले जानकारी दिनुभयो । कन्याम, अन्तु, फिक्कल बजार, इलाम बजार, सन्दकपुरजस्ता पर्यटकीय क्षेत्रका होटलसमेत धरासयी बन्ने अवस्थामा पुगेको होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेल बताउनुहुन्छ ।

पर्यटक नआएका कारण इलामका धार्मिकस्थलसमेत यतिबेला सुनसान छन् । कोरोनाका कारण लकडाउन सुरु भएदेखि पर्यटक आउनै छाडेको इलामको प्रसिद्ध धार्मिकस्थल माइपोखरीका पुजारी तुलाराम पौडेलले बताउनुभयो ।

गत वर्षमात्रै इलाममा करिव एक लाखको हाराहारीमा पर्यटक इलाम घुम्न आएका थिए । तर यस बर्ष भने कोरोनाको कारण पर्यटकको संख्यामा कमी आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर