
५ असार, इलाम । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) को मर्मतका लागि तीन स्थानिय तह सहकार्यमा जुटेका छन । माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको संयुक्त बैठकले सडकको तत्काल मर्मत गर्ने निर्णय गर्दै त्यसका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
तीन स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागितामा सम्पन्न संयुक्त बैठकले दमक–चिसापानी सडकको वर्तमान अवस्था सुधार गर्न तत्काल मर्मत सम्भारको काम अघि बढाउने निर्णय गरेको हो । बैठकले सडकको विभिन्न खण्डमा देखिएका खाल्डाखुल्डी, कटान तथा वर्षायामका कारण उत्पन्न हुने समस्यालाई मध्यनजर गर्दै तत्काल सुधारात्मक काम सञ्चालन गर्ने निष्कर्ष निकालेको जनाएको छ।
बैठकको निर्णयअनुसार माङ्सेबुङ गाउँपालिकाले १५ लाख रुपैयाँ, फाकफोकथुम गाउँपालिकाले ७ लाख रुपैयाँ र मिक्लाजुङ गाउँपालिकाले ८ लाख रुपैयाँ व्यहोर्ने छन्। यसरी तीनवटै स्थानीय तहको संयुक्त लगानीमा जम्मा ३० लाख रुपैयाँ बराबरको बजेट सडक मर्मत कार्यमा खर्च गरिनेछ।
सडक मर्मत अन्तर्गत सडकमा रहेका साना–ठूला खाल्डाखुल्डी पुर्ने, बिग्रिएका भागहरू सम्याउने, पानी ढलान कटान भएका स्थानहरूको व्यवस्थापन गर्ने र पानी निकासको काम गर्ने निर्णय भएको छ। विशेषगरी वर्षायाममा सडक थप जीर्ण हुने र यातायात सञ्चालनमा कठिनाइ उत्पन्न हुने भएकाले तत्काल मर्मत आवश्यक रहेको बैठकमा छलफल भएको थियो ।
संयुक्त बैठकले सडकको नियमित संरक्षण र निगरानीका लागि सडक हेरालु राख्ने निर्णय पनि गरेको छ। सडक हेरालुले सडकको दैनिक अवस्था निरीक्षण गर्ने, सामान्य मर्मत आवश्यक परेका स्थानहरूको जानकारी दिने तथा आवश्यक समन्वय गर्ने जिम्मेवारी पाउनेछन्। यसबाट सडकमा देखिने साना समस्याहरू समयमै समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ।
सडक मर्मत कार्यलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अनुगमन समिति समेत गठन गरिएको छ। समितिको संयोजकमा फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, समितिका सदस्यहरूमा बिनोद नेम्बाङ, सन्तकुमार शेर्मा, सन्तोष श्रेष्ठ र कल्पना राई रहेका छन्।
संयुक्त बैठकमा फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष बिनोद नेम्बाङ, वडाध्यक्ष सुदीप आले, मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, योजना प्रमुख झपेन्द्र राई लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यसैबीच, बहुप्रतिक्षित दमक–चिसापानी सडक अर्थात् फाल्गुनन्द मार्गको कालोपत्रे निर्माणका लागि संघीय सरकारबाट स्वीकृत बहुवर्षीय योजना अन्तर्गत १ अर्ब ६४ करोड रुपैयाँ बराबरको नयाँ ठेक्का प्रक्रिया सुरु भएको छ।
झापास्थित सडक डिभिजन कार्यालय दमकले बुधबारबाट उक्त सडक कालोपत्रे निर्माणका लागि नयाँ ठेक्का आह्वानको प्रकृया सुरु गरेको जनाएको छ । यसअघि भएको ठेक्का विभिन्न कारणले प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि पुरानो ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया अघि बढाइएको जनाइएको छ।
फाल्गुनन्द मार्ग पूर्वी पहाडी क्षेत्रलाई तराईसँग जोड्ने महत्वपूर्ण सडक सञ्जालका रूपमा परिचित छ। इलामको माङ्सेबुङ, फाकफोकथुम र मोरङको मिक्लाजुङ क्षेत्रका हजारौं नागरिकले दैनिक रूपमा यही सडक प्रयोग गर्ने गरेका छन्। सडक स्तरोन्नति भएपछि स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधि विस्तार तथा सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७