दमक क्याम्पस खेलकुद सप्ताहको तयारी पुरा

दमक क्याम्पस खेलकुद सप्ताहको तयारी पुरा


१२ चैत्र, झापा । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा दमक बहुमुखी क्याम्पसमा सञ्चालन हुन लागेको खेलकुद सप्ताहको तयारी पूरा भएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने उक्त कार्यक्रम सफल बनाउन आवश्यक प्राविधिक, व्यवस्थापकीय तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको खेलकुद सप्ताह संयोजक संजय राईले जानकारी दिएका छन् ।

स्ववियुको आयोजनामा हुन लागेको खेलकुद सप्ताहलाई यस वर्ष विशेष उत्साहका साथ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विद्यार्थीहरूबाट उत्साहजनक सहभागिताका लागि नाम दर्ताको काम भईरहेको खेलकुद संयोजक राईले बताए । यस्तै स्ववियु पदाधीकारी तथा क्याम्पस विभागीय प्रमुखहरूसँगको समन्वयमा खेल तालिका, खेल मैदान व्यवस्थापन, निर्णायक मण्डल तथा आवश्यक सामग्रीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

खेलकुद सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, १०० तथा ४०० मिटर दौड, टेबल टेनिस, चेस र प्राध्यापक र कर्मचारीतर्फ म्युजिकल चेयर प्रतियोगिता सञ्चालन हुनेछन् । सबै खेलका लागि आवश्यक मैदान सरसफाइ, मार्किङ, नेट जडान, खेल सामग्री व्यवस्थापन तथा सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगितामा एक विद्यार्थीले दुईभन्दा बढी खेलमा सहभागिता जनाउन नपाउने प्रावधान कडाइका साथ लागू गरिने खेलकुद संयोजक राईले बताए । सहभागी विद्यार्थीका लागि क्याम्पस परिचयपत्र अनिवार्य गरिएको छ ।

प्रत्येक खेलका लागि संयोजक, सह–संयोजक तथा स्वयंसेवक टोली स्ववियुबाट कार्य विभाजन गरेर परिचालन गरिनेछ । प्राथमिक उपचारका लागि आवश्यक व्यवस्था समेत मिलाइएको स्ववियु सभापति भुपेन्द्र बस्नेतले बताए ।
स्वतन्त्र विद्यार्थी युनियनले सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई खलकुद सप्ताहमा सक्रिय सहभागिता र सहयोगका लागि आह्वान समेत गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर