
४ चैत्र, इलाम । इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी संकलन गरी प्रशोधन गरिँदैछ । रोङ गाउँपालिका–३ स्थित मन्दिरमा रहेको सुन र चाँदी केही दिनअघि गाउँपालिका कार्यालयमै संकलन गरिएको थियो ।
विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी गराइ गरिएको संकलनमा प्रशोधन गर्नुअघि १३.४५ तोला सुन र ६०९.५७ तोला चाँदीको तौल यकिन गरिएको रोङ गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले गाउँपालिकाले मन्दिरको व्यवस्थापन जिम्मा लिएपछिको मात्रै सुन–चाँदीको हिसाब–किताब आएको बताए ।
आर्थिक वर्ष २०७९/०८० अघि यहाँ भक्तजनले चढाएका गरगहनाबारे पालिकालाई जानकारी नभएको उनको भनाइ छ । त्यस आर्थिक वर्षअघि यो मन्दिरको व्यवस्थापनका लागि बेग्लै समिति थियो । तर, पालिकाले स्थानीय कानुन बनाएर आफैं व्यवस्थापन समिति गठन गरेपछि त्यसविरुद्ध मुद्दा दर्ता भएको थियो । अदालतले गाउँपालिकाकै पक्षमा फैसला गरेपछि पालिकाले यसको व्यवस्थापन गरिरहेको छ ।
मन्दिरमा आव २०७९/०८० यता गत फागुन मसान्तसम्म ४ करोड २३ लाख ६८ हजार रुपैयाँ भेटी संकलन भएको छ । आव २०७९/०८० मा ८५ लाख २८ हजार, आव २०८०/०८१ मा १ करोड ५६ लाख ६१ हजार, आव २०८१/०८२ मा ९७ लाख ५४ हजार र चालु आवको फागुन मसान्तसम्म ८४ लाख २४ हजार रुपैयाँ भेटी संकलन भएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिइन् । उनका अनुसार यो भेटी जिन्सी सामान बाहेकको हो ।
संकलित सुन र चाँदी इलाम सदरमुकामस्थित सिद्धिविनायक गोल्ड एन्ड सिल्भर रिफाइन सेन्टर ल्याएर प्रशोधन गरिँदैछ । ‘प्रशोधनपछि यो सुन–चाँदी के गर्ने भन्ने चाहिँ गाउँ कार्यपालिकाले निर्णय गर्नेछ,’ सुन प्रशोधन गराउन सदरमुकाम आएकी पालिका उपाध्यक्ष खवासले भनिन्, ‘यो धातु जस्ताको तस्तै राख्ने कि बेचेर त्यसको आम्दानी अन्यत्र लगानी गर्ने भन्ने निर्णय पालिकाले गर्नेछ ।’ पालिकाले स्थानीय प्रहरी, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पाथीभरा मन्दिर व्यवस्थापन समितिलगायतको रोहबरमा सुन संकलन र प्रशोधन गरिरहेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७