
११ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ कहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने बताएका छन्।
सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताएका हुन्।
‘जहाँ उभियौं त्यहाँबाट वरिपरि हेरियो भने एमालेले गरेको विकास देखिन्छ। विकास हाँक्ने र विकास गर्ने पार्टी एमाले हो भनेर सबैलाई थाहा छ,’ उनले भने।
तर मानिसहरू विकास भएको देख्दा देख्दै पनि अहिलेसम्म के गर्यौ भनेर प्रश्न गरेको उनको गुनासो छ।
‘कालोपत्रेमा उभिएर अहिलेसम्म के काम गर्यौ भन्छन्। घरछेउको फुसको स्कुल दरबारजस्तो बनेको छ। तैपनी के भयो भन्छन्। घरमा झलमल्ल बिजुली बलेको छ, के भयो भन्छन्। ट्वाइलेटमा नुहाउने, हात धुने पानी आउने छुट्टै धारा छ, फेरि के भयो भन्छन्,’ उनले भने।
उनले एमाले सरकारमा आए पछि विकासका काम तीव्र गतिमा अगाडि बढ्दा विरोधीहरू थर्कमान हुने बताए।
‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ। काम बन्द भएपछि फेरि म आउनुपर्छ। म सरकारको नेतृत्वमा फर्किएपछि फेरि काम अगाडि बढ्छ,’ उनले भने।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७