स्वास्थ्य सुरक्षाको मापदण्डमा रहेर संसद बैठकको तयारी पुरा

स्वास्थ्य सुरक्षाको मापदण्डमा रहेर संसद बैठकको तयारी पुरा

२६ वैशाख, काठमाण्डौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने आवश्यकता छ । बैठकका लागि कोरोनाको जोखिम हुन नदिन आवश्यक सबै मापदण्ड पूरा गरिएको छ ।”
सञ्चारकर्मीसँगको भेटमा आज उहाँले विश्व स्वास्थ्य सङ्गठनले निर्देशन गरेका मापदण्ड पूरा गरी स्वास्थ्य क्षेत्रका विज्ञसँगको समन्वयमा बैठक सञ्चालनको तयारी गरिएको र सबै सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । संवैधानिक व्यवस्थाअनुसार अगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि पूर्वतयारीका छलफल तथा अन्य कार्यक्रमका लागि हाल बजेट अधिवेशन प्रारम्भ गर्नुपरेको उहाँको भनाइ थियो ।
कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ । त्यसैगरी संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि कोभिड–१९ भए÷नभएको निक्र्याेल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको बिहीबार थ्रोट स्वाब सङ्कलन गरिएको थियो ।
सङ्घीय संसद्का प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको आज स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।

सभामुख सापकोटाले आजको बैठक नियमित एजेण्डाहरुको अतिरिक्त दलका नेताहरुले शुभकामना दिएपछि समाप्त हुने छ बताउनुभयो । उहाँले २८ गते ११ बजे प्रतिनिधि सभाको र १ बजे राष्ट्रिय सभाको बैठक बस्ने समेत बताउनुभयो । २८ गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी (प्रिबजेट) प्रस्तुत गर्नेछन् । त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्ने छ र प्रिबजेट माथि छलफल सुरु हुने छ । २९ र ३० गते सम्म छलफल चल्ने सभामुख सापकोटाले बताउनुभयो ।
त्यसपछि जेठ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ । जेठ ३ गते बैठक बस्ने छैन भने ४ गतेदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु हुने छ र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुने छ ।
जेष्ठ १३ गते अर्थमन्त्री खतिवडाले आगामि आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत हुने छ ।
सभामुख सापकोटाले बजेट अधिवेशनमा सांसदहरुको उपस्थिति अधिकतम बनाउने विषयमा आफुले अधिकतम पहल गर्ने समेत बताउनुभएको छ । यस अघिको हिउँदे अधिवेशनका केही बैठकमा गणपुरक संख्या नपुग्दा बैठक स्थागित हुँदै आएकोले कतिपय विधेयक माथिको छलफल नै सम्पन्न हुन सकेको थिएन् । सोही कुरालाई मध्यनजर गर्दै सभामुख सापकोटाले यसपटक आफ्नो तर्फबाट सकेसम्म भाग लिनको लागि अधिकतम उत्प्रेरीत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताबाट निर्वाचित, जननिर्वाचित माननिय सदस्यहरुले त्यसमा भाग लिनुपर्छ । त्यसमा भाग लिएर जनताका आवाजहरु वहाँहरुले राख्नुभयो भने २ गते आउने नीति तथा कार्यक्रमलाई धेरै राम्रो सहयोग पुग्छ । किनभने के रैछत जनताको आवाज करोडौं जनताले के चाहेका छन भन्ने कुरा हुन्छ र त्यसमा मलाई लाग्छ वहाँहरुले भाग लिनुहुन्छ भाग लिनका लागि मेरो तर्फबाट सकेजति उत्प्रेरित गर्ने पहल कदमी हुन्छ तर त्यसमा निर्णय गरिरहन पर्दैन् ।’
नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने भएकाले सांसदहरुको उपस्थितिका लागि कुनै निर्णय गर्न नपर्ने सभामुख सापकोटाले बताए । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने र जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कुरामा कुनै निर्णय नहुने भएकाले गणपुरक संख्याको आवश्यकता नहुने बताउनुभयो ।
त्यस्तै जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यका लागि पनि सांसदहरुको उपस्थितिका लागि कुनै निर्णय गर्ननपर्ने उहाँले बताउनुभयो । त्यसपछिका बैठकहरुमा गणपुरक संख्याको आवस्यकता पर्ने भएकाले सांसदहरुको उपस्थितिका लागि आफुले अधिकतप प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर