
इलाम– गत असोज १८ र १९ को विपदका कारण इलामका धेरै खानेपानी मुहान र आयोजनामा क्षति पुुगेपछि धेरै संख्याका स्थानीय खानेपानीको चपेटामा छन् ।
बाढी र पहिरोमा घर पूर्ण क्षति बेहोरेका परिवार अहिले सहज खानेपानीबाट बञ्चित भएका हुन् । इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिकासहित विपद् प्रभावित सबैजसो पालिामा खानेपानीका मुहान र आयोजनामा क्षति पुगेको छ ।
पहिरोका कारण अहिले सबैभन्दा बढी सन्दकपुर गाउँपालिका–४, माबुका बासिन्दा खानेपानीको समस्यामा छन् । ‘यो वडाका आठ मुहानमा पूर्ण क्षति भयो, अढाई सय परिवार खानेपानीको समस्यामा छन्,’ वडाध्यक्ष डिबी गुरुङले भने, ‘टुक्रा पाइप जोडेर कति उपभोक्ताकहाँ पानी लगिएको छ, कतिपयले त गाग्रीमा मुहान र खोल्साबाटै खान बोकेर प्रयोग गर्नुपरेको छ । स्वच्छ खानेपानी बनाउन हामीले प्युसजस्ता औषधि पनि वितरण गरिरहेका छौं ।’ २१ हजार मिटर पाइप आवश्यक रहेको र माथिल्लो निकायमा माग गरिएको भएपनि आइनसकेकाले समस्या उस्तै रहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
माइजोगमाई गाउँपालिकामा पनि तत्काल ६२ घर–परिवार खानेपानीको समस्यामा छन् । ‘धेरै मुहानमा क्षति पुुगेको छ । वडा–वडामा खानेपानी समस्या छ । ‘यहाँ ४० घरमा पूर्ण क्षति भएको थियो । यी सबैले अस्थायी रूपमा खानेपानी प्रयोग गरिरहेका छन्,’ गाउँपालिका अध्यक्ष कुशबहादुर थेबले भने ।
गाउँपालिकाका शाखा अधिकृत तथा फोकल पर्सन गोकुल सञ्जेलका अनुसार यसपटक गाउँपालिकाले नयाँ पाइप खरिदका लागि बजेट छुुट्याएको थिएन । माथिल्लो तहमै पाइप माग गर्नुपर्ने अवस्था रहेको उनले जनाए । ‘हामीले आवश्यकता संकलन गरेर पठाएका छौं,’ उनले भने, ‘जबाफ आउन बाँकी छ ।’
यसपटक सूर्याेदय नगरपालिकाले पनि नगर क्षेत्रमा सञ्चालित खानेपानी आयोजनामा क्षति पुग्दा लाखौं रुपैयाँको नोक्सानी बेहोर्नुपरेको नगरपालिकालले जनाएको छ । अस्थायी रूपमा खानेपानी सञ्चालन गरिएपनि यसको दीर्घकालीन मर्मत गर्न बाँकी रहेको जनाइएको छ ।
सधैं खानेपानीको समस्या झेल्दैआएको इलाम नगरपालिकामा पनि अझै आपूर्ति सहज भएको छैन । सन्दकपुर गाउँपालिकाको गिताङ र भाँडीखोला मुहानबाट ल्याइएको पानीको पाइपलाइनमा क्षति पुगेको र मर्मतका लागि ठूलो रकम लाग्ने नगरपालिकाले बताउनेगरेको छ ।
असोज १८ र १९ को बाढी–पहिरोका कारण जिल्लामा सञ्चालित खानेपानीका २९ आयोजनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । इलामका सबै आयोजनाको अहिलेसम्म प्राप्त क्षति मूल्यांकन गर्दा करिब २८ करोड ३० लाख रुपैयाँ बराबरको पुनर्निर्माण आवश्यक रहेको समितिको आँकलन छ ।
तथ्यांकअनुसार बाढी–पहिराले इलामका ३ सय ३८ घर पूर्ण क्षति भएका छन् । ८ सय २८ घरमा आंशिक क्षति भएको छ । ४ सय ४९ परिवार विस्थापित भएका छन् भने ११ परिवार सामुदायिक भवनमा बसिरहेका छन् । बाँकी आफन्त र छिमेकीकहाँ बसेका छन् ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७