
काठमाडौँ । भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलित जेनजी समूहभित्र अहिलेको परिस्थितिबाट देशलाई निकास दिने रोडम्यापबारे मतैक्यता देखिएको छैन । आन्दोलन सफल भएर अन्तरिम सरकार गठन र प्रतिनिधि सभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा जेनजीभित्र विभिन्न समूह फरक–फरक रोडम्यापसहित अघि बढ्न खोजेको देखिन्छ ।
जेनजी प्रतिनिधिको रूपमा पछिल्लो समय देखा परेका अनुहारमध्ये कतिपयले यही संविधान अनुसार हुने निर्वाचनले जेनजी पुस्ताको माग र आकाङ्क्षा सम्बोधन नगर्ने तर्क गरिरहेका छन् भने कतिपयले यही संविधानलाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन् ।
भदौ २३ को आन्दोलन आह्वान गर्नेमध्येका एक प्रतिनिधि मिराज ढुंगाना प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनुपर्ने बताउँछन् । ढुंगानाले जेनजीको म्यान्डेट नै प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको बताए । उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीलाई निरकुंश हुन नदिने उपाय पनि हामी बुझाउने छौँ, तर प्रमुख एजेन्डा नै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हो ।’
ढुंगानाले बुधबार एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘हामी फेरि शान्तिपूर्ण आन्दोलन गर्छाैं । जेनजीको शक्ति प्रदर्शन हुन्छ । यो देश बनाउने अवसर हो ।’ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाका लागि ज्यानको पर्वाह नगरी आफू अघि बढ्ने उनले प्रस्ट पारेका छन् ।
आन्दोलनमा स्वंयसेवी भूमिका खेलेको ‘हामी नेपाल’ नामक संस्थाका संस्थापक सुदन गुरुङसहितको टीम जेनजी आन्दोलनपछि कतिपय ठाउँमा निर्णायक बनिरहेको छ । अहिले सरकारको काम कारबाहीमा समेत हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजिरहेको गुरुङको समूह भने संविधान जोगाउनुपर्ने तर भ्रष्ट नेताहरू कसैलाई छोड्न नमिल्ने पक्षमा छ ।
‘संविधान नजोगाउने हो भने देशको सार्वभौम सत्तामाथि नै प्रश्न उठ्छ, तर संविधानले पुराना नेताहरूलाई समात्ने प्रक्रिया झन्झटिलो बनाएको छ,’ गुरुङले भने, ‘हामीले संविधान नजोगाए देश नै नरहने खतरा भएको बुझेका छौँ । फेरि यही संविधान अनुसार पुराना नेताहरूले टाउको उठाउने ठाउँ पाउँछन्, योचाहिँ हामीलाई मन नपरेको विषय हो ।’
आन्दोलनमा भिडलाई उत्तेजित हुन नदिन भाषण गरेर चर्चामा आएकी अभियन्ता रक्षा बम जेनजी आन्दोलनपछि प्रधानसेनापति अशोकराज सिग्देलसँग कुरा गर्नेमध्येकी एक हुन् । बमले यो सरकार जसरी बने पनि संविधान र लोकतन्त्रमा अडिग हुनुपर्ने प्रस्ट पारिन् । उनले भनिन्, ‘यो सरकार चुनाव केन्द्रित हुने हो, तर त्यसको अर्थ आन्दोलनमा भएको सरकारी दमन र त्यसपछिको अवस्थाको जिम्मेवारलाई कारबाही गर्ने कुरा पन्छाउन मिल्दैन ।’
आन्दोलनमा सहभागी भएको र समर्थन जनाएका जेनजीका १२ वटा समूह रहेको जेनजी मुमेन्ट अलायन्सले भने संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक समावेशीता स्वीकार गरेको जनाएको छ । यो अलायन्समा ३९ जिल्लाका प्रतिनिधि रहेको दाबी गरिएको छ । अलायन्सका सदस्यहरूका अनुसार संविधान जोगाउँदै निर्वाचनमा जाने अहिलेको रोडम्याप हो ।
‘सकेसम्म जेनजीहरू नै चुनाव लड्ने तर नसकेको अवस्थामा अन्य वैकल्पिक उम्मेदवारलाई सहयोग गर्ने रणनीति छ,’ अलायन्सका एक सदस्यले भने ।
अलायन्सका अर्का सदस्य मोहम्मद नइम राइनका अनुसार उनीहरूको मुख्य आवाज संघीयता, समावेशीता र लोकतान्त्रिक गणतन्त्रको पक्षमै हो ।
आन्दोलनमा चर्का भाषण गरेर भाइरल भएका विराटनगरका जेनजी प्रवेश दाहालसहित अन्य केही युवा भने आन्दोलनले प्रस्ट रूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी खोजेको बताउँछन् । दाहालले अन्तरिम संविधान बनाएर भए पनि प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने भाषण गरेका थिए, जो निकै चर्चामा छ । यही व्यवस्था अनुसार चुनावका लागि आन्दोलन नभएको उनको तर्क थियो ।
तनुजा पाण्डेसहितका अभियन्ताहरू रहेको जेनजीको समूहले भदौ २३ को प्रदर्शन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानका विरुद्धमा नरहेको स्पष्ट पारेको छ । ‘हामी बहुदलीय व्यवस्थालाई समर्थन गर्छाैं र संविधानका आधारभूत स्तम्भ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र नेपाली जनतामा निहीत रहेको सार्वभौमसत्ता र राजकीयसत्ता लगायतका बुँदामा दृढतापूर्वक अडिग छौँ,’ उक्त समूहले भनेको छ ।
यी संरचनाविरुद्ध जेनजी विद्रोहका नाममा हुने वा गर्न खोजिने कुनै पनि गतिविधिलाई आफूहरूले अस्वीकार गर्ने सो समूहको चेतावनी छ ।
यसरी हेर्दा जेनजीहरूको अलग–अलग समूहबिच विभिन्न विषयमा मतान्तर प्रस्ट देखिन्छ । शासकीय स्वरुप फेर्ने कि नफेर्ने, अन्तरिम सरकारको जिम्मेवारीभित्र के–के रहने लगायतका विषयमा उनीहरूबिच मतैक्यता देखिएको छैन । यही संविधान अनुसार चुनावमा जाने हो भने आन्दोलनको औचित्य के रह्यो भन्नेमा पनि केहीले प्रश्न उठाइरहेका छन् । केहीले भने यही संविधानलाई जोगाएर अघि बढ्नुपर्ने तर्क गरिरहेका छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७