विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् ।
भण्डारीलाई एमालेले पार्टीमा फर्किन ढोका बन्द गरिसकेको छ, तर पार्टीपंतिमा उनीप्रति आकर्षण र क्रेज यथेष्ट रहेको बिराटनगर यात्रामा पनि देखिन्छ । उनलाई स्वागत गर्न कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी लगायत विमानस्थलमा पुगेका थिए । यसअघि उनी आउँदा स्वागतमा देखिने केही चर्चित अनुहार भने यसपाला गयल रहे । यसअघि पूर्वमुख्यमन्त्री एवं कोशीका इञ्चार्ज शेरधन राईदेखि, कोशीका मुख्मन्त्री हिक्मतकुमार कार्की साथै मन्त्रीहरू विमानस्थलमै पुग्ने गरेका थिए ।
मुख्यमन्त्री कार्कीले भण्डारीलाई उनी बसेको होटल बिगमा गएर भेटघाट गरे । कार्कीसँगै आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र खानेपानी मन्त्री एकराज कार्की पनि साँझ भण्डारीलाई भेट्न पुगेका थिए ।
मुख्यमन्त्री र मन्त्रीहरूसँग भण्डारीले प्रदेश सरकारमा राजनीतिक दलहरुको सहभागिताको अवस्थाको बारेमा जिज्ञासा राखेको एक मन्त्रीले बताए ।
‘प्रदेशमा संयुक्त सरकार भएकाले कुन पार्टीबाट को–को मन्त्री सहभागी छन् भनेर जिज्ञासा राख्नुभयो । मुख्यमन्त्रीज्यूले पनि सरकारको समग्र कामकारबाहीको अवस्थाबारे जानकारी गराउनुभयो,’ ती मन्त्रीले भने ।
एमालेका मात्र होइन, भण्डारीलाई भेट्न नेकपा एसका नेता–कार्यकर्ताको पनि होटल बिगमा लर्काे लाग्यो । नेकपा एसका नेता महेश रेग्मी श्रीमतीसमेत लिएर भण्डारीलाई भेट्न गएका थिए । एमाले मोरङको अध्यक्ष भइसकेका रेग्मी नेकपा एसको प्रदेश अध्यक्षमा पराजित भएपछि पार्टीमा अलि सेलाएका छन् । भण्डारी २०४२ सालमा अनेमसंघ मोरङको संयोजक हुँदा महेशकी पत्नी सावित्रा सहसंयोजक थिइन् । पछि जिल्ला अध्यक्षमा भण्डारी निर्वाचित हुँदा उनी सचिव भइन् । रेग्मीले केही राजनीतिक र केही पारिवारिक कुराकानी भएको बताए ।
महामहिम भइसकेको व्यक्ति राजनीतिमा आउनुको कारण सोधेको उल्लेख गर्दै रेग्मीले भने, ‘मैले यो प्रतिकूल अवस्थामा राजनीतिमा आउनुको कारण सोधेँ । उहाँले अवस्था प्रतिकूल भएकै कारण आफू एमालेको सक्रिय राजनीतिमा फर्कनु परेको बताउनुभयो ।’
रेग्मीले आफूहरूको घरमा समेत आउने–जाने भइरहने गरेकाले विराटनगर आएको बेला भेट भएको प्रष्ट्याए ।
पूर्वराष्ट्रपति एमालेले अहिले निषेधको नीति लिइरहेको छ । एमाले संस्थापनले उनको कार्यक्रममा नजान, समर्थनमा नबोल्न पार्टी पंतिलाई निर्देशन दिँदै आएको छ । केही दिनअघिको कोशी प्रदेश कमिटीको बैठकमा प्रदेश इन्चार्ज शेरधन राईले भण्डारीको सदस्यता नवीकरणको च्याप्टर क्लोज भइसकेको बताएका थिए । आज विराटनगर महानगर कमिटीका इन्चार्ज पर्शुराम बस्नेतले एमालेले कुनै कार्यक्रम नराखेको भन्दै सहभागी नहुने उर्दी जारी गरेका छन् ।
विद्या पक्षमा खुलेका नेता–कार्यकर्तालाई पार्टीले ‘नोटिस’ गरिरहँदा कोशीका मुख्यमन्त्र प्रभावशाली नेताहरूले पनि भण्डारीलाई भेट्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । तर, भेटघाटका तस्बिरहरू कसैले सामाजिक सञ्जालमा राखेका छैनन् ।
आज काठमाडौं फर्किनुअघि उनले पाञ्चालीस्थित एमाले मोरङको कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरिन् । एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गरेकी उनले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वाेपरि राखेर अगाडि बढ्न आग्रह गरिन् ।
आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताउँदै भण्डारीले भनिन्, ‘राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन पाइनँ । पदबाट निस्किएपछि पार्टी सदस्यता नवीकरण गरेँ ।’
४५ वर्षअघि एमालेको सदस्यता लिएको भन्दै उनले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएको स्मरण गर्दै विराटनगर, मोरङ गृहजिल्ला, गृहनगरजस्तो लाग्ने बताइन् ।
नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उनले एमालेको सामान्य सदस्यमात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताइन् ।
कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापासहितका नेता पाञ्चाली पुगेका थिए ।